दमक गोल्ड कप एमालेको खेलकुद हो ? : युवक संगठन

दमक,१३ चैत । दमकमा जारी दमक गोल्डकप सञ्चालनमा नेकपा एमालेले एक्लौटी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको युवक संगठनले आपत्ती जनाएको छ ।
रप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन दमक नगर समितिले विज्ञप्ति निकालेर दमक गोल्डकप दमकबासीको साझा सरोकारको विषयभएपनि त्यसलाई एमालेकरण गरिएको भन्दै आपत्ति जनाएको हो ।
संगठनका अध्यक्ष विनोद थापाले हिजो शनिवार हस्ताक्षर गरेर निकालेको विज्ञप्तिमा दमक गोल्डकप सबै दमकेलीको साझा र गर्विलो इतिहास रहेकोमा यसमा नेकपा एमालेको कार्यक्रम जस्तो झल्को दिने गरि कार्यक्रम आयोजना गरिएको भनि टिप्पणी गरिएको छ । गोल्डकप आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर एमालेले आयोजना गरेको भान हुने गरि आयोजना तथा व्यवस्थापन गरिएको आरोप पनि सो संगठनले लगाएको छ ।
विज्ञप्तिमा भनिएको छ,–‘ दमक गोल्डकप सवै राजनीतिक दल तथा युवाहरुको अपनत्व हुने गरि कार्य सम्पादन हुनुपर्नेमा आयोजक समितिको गंभीर ध्यानाकर्षण गर्दछौ ’ संगठनले मोफसलकै सर्वाधिक राशीको जारी दमक गोल्डकपमा आयोजक समितिले स्थानीय राजनीतिक दल तथा खेलकुद सम्बद्ध सरोकार पक्षलाई समेत कुनै छलफल, समन्वय नगरि पक्षपात ढंगले कार्य गरिआएको समेत आरोप लगाएको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि नेपाली कांग्रेसको स्थानीय नेतृत्वदेखि संघीय सांसद महेन्द्रकुमारी लिम्बूले पनि गोल्डकप व्यवस्थापन प्रति कडा आलोचना गर्नुका साथै त्यहाँ बसेका पार्टी सम्बद्धलाई समेत फिर्ता बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published.