
झापा,१२ चेत । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा झापामा पार्टी कार्यकर्ताहरुलाई चलायमान बनाउन गतिबिधिहरु बढाएको छ । बैचारिक तथा संगठनात्मक कृयाकलापहरु बढाएको हो ।
कांग्रेसले झापाको क्षेत्र नं ५ अन्तर्गत गौरादहमा शनिबार एकैपटक नेपाल तरुण दल र नेपाल महिला संघको नगर नेतृत्व चयन गरेको छ । क्षेत्र नं ५ अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र (क)का सभापति जिवन राईका अनुसार नेपाल तरुण दल गौरादह नगर सभापतिको जिम्मेवारी सुरज खडकालाई प्रदान गरिएको महिला संघ नगर सभापतिको जिम्मेवारी उर्मिला कार्कीलाई दिइएको छ ।
त्यसैगरी कमल गाउँपालिका वडा नं ३ वडा भेलाले नेपाल महिला संघको वडा समिती चयन गरेको छ । रिता खतिवडा (बराल )को सभापतित्वमा चयन भएको समिति २४ सदस्यीय रहेको कांग्रेसका ३ नम्बर वडा सभापति लक्ष्मण बोहोराले जानकारी दिए । त्यसैगरी झापा क्षेत्र नं ४ (क) को प्रदेश सभा क्षेत्रीय कार्यसमितीको आयोजनामा “प्राज्ञिक एवं प्रबुद्ध ब्यक्तित्वहरुसँग “पार्टीको बर्तमान अबस्था र अबको रणनीति“ बिषयक अन्तरक्रिया कार्यक्रम शिवगन्जमा सम्पन्न भएको छ ।
सभापति बिनोद ढकालको सभापतित्व र प्रदेश १ का सदस्य किरण भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेसका जिल्ला सहसचिब कमल भण्डारी, महाधिबेशन प्रतिनिधीहरु भक्ति प्रसाद सिटौला, कार्तिकलाल राजवंशी, शिबसताक्षी नगर सभापति अशोक बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।