दमक,१३ चैत । दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा अघोषित रुपमा दलीय प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।संस्थाको नेतृत्वका लागि दलीय समूह तयार गरि घरघर पुगेर मत मागिरहेका हुन् । दमक खानेपानीमा हाल नेपाली कांग्रेसको नेतृत्व छ ।
नेतृत्व चयनलाई लिएर यतिखेर मुख्य राजनीतिक दलहरु सक्रिय भएर नेतृत्व हत्याउन लागिपरेका छन् । खानेपानीमा रहेको साखलाई जोगाउने चुनौतीमा कांग्रेस छ भने भने एमाले लगायतका अन्य दलहरु कांग्रेसको बर्चश्व तोड्ने कसरतमा लागेको देखिन्छ । घोषित रुपमा रास्वपाले यो चुनावमा भाग नलिएको भनेपनि सो पार्टीका जिम्मेवार नेता, कार्यकर्ताहरु स्वतन्त्र टिमको नाममा आफनो टिम बनाएर चुनावी मैदानमा छन् ।
कांग्रेस ,राप्रपा र लिम्बुवानले यो चुनावमा गठबन्धन गरेका छन भने यो गठबन्धनलाई काउण्टर दिन एमालेले माओवादी र जसपाको साथ लिएर अघि बढेको छ ।निर्वाचनबाट एमालेको पक्षमा चुनावी परिणाम आएको खण्डमा दमक खानेपानीको अध्यक्ष बन्ने महत्वकांक्षासहित घनेन्द्रराज सुव्वा क्षेत्र १ मा प्रतिस्पर्धा गरिरहेका छन् ।
घनेन्द्र राप्रपाबाट कांग्रेस हुदै पछिल्लो समय एमालेमा छिरेर खानेपानीको अध्यक्ष बन्ने दाउमा छन् । सुब्बालाई क्षेत्रबाट चुनिन रोक्नका लागि कांग्रेस, राप्रपा र लिम्बुवानको संयुक्त टिमबाट कांग्रेस दमक १ का वडा सभापति समेत रहेका खेलकुदसँगै सामाजिक क्षेत्रमा स्थापित युवा नेता गजेन्द्र देवानलाई प्रतिस्पर्धीका रुपमा उभ्याएको छ ।
संस्थाको विभिन्न १२ सदस्यका लागि ४१ जनाको उम्मेद्धवारी परेको गठित निर्वाचन समितिका संयोजक यज्ञ निरौलाले जानकारी दिए ।
उनका अनुसार खुल्ला महिलातर्फ ३ जनाका लागि ९ जनाको उम्मेद्धवारी परेको छ । तीन सदस्यीय लेखा समितिमा ५ जनाको उम्मेद्धवारी परेको छ । लेखा समिति सदस्य महिलातर्फ ३ जना र लेखा समिति संयोजक पद तर्फ ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
खुल्ला सदस्य पदतर्फ घनेन्द्रराज योङया, गजेन्द्र देवान (गजु ),बालण्ठ लामिछाने,पार्वता ढकाल,धनबहादुर भटराई,चिन्तामणी खरेल,मन प्रसाद चेम्जोङ(एम.पी.),प्रविणकुमार चाम्लिङ राई,महेश पोखरेल, प्रेम बहादुर खत्री(भटराई),चन्द्र बहादुर थापा,बुद्धिशेखरभटराई, द्रोणकुमार वराल र कुमार निरौला उम्मेद्धवारी रहेका छन् ।
यसैगरी खुल्ला सदस्य पदहरुमै कृष्णराज थापा,ओमनाथ बानियाँ,रवि न्यौपाने खत्री,मेघनाथ फुयाँल,शान्तिराम भटराई,विक्रम अधिकारी र लक्ष्मीप्रसाद रेग्मीको उम्मेद्धवारी परेको वताइएको छ ।
एता खुल्ला महिला सदस्य पदतर्फ भूमिका कोइराला,मिनाकुमारी कोइराला,दुर्गादेवी खनाल(काफले),छत्रदेवी पौडेल(अस्मिता),रिताकुमारी बस्नेत(श्रेष्ठ),दिलकुमारी सुब्बा(दिलु),विष्णुमाया थापा,शान्ता तामाङ र निर्मला कटुवालको उम्मेद्धवारी परेको जनाएको छ ।
खानेपानी उपभोक्ता संस्थाको लेखा समिति संयोजकमा राधिका ओझा,हेमराज सुवेदी र लक्ष्मीप्रसाद फुयलको उम्मेद्धारी परेको छ ।लेखा समिति महिला सदस्य पदतर्फ पोमला कार्की(कमला),भगवती पाँचकोटी र गायत्रा रेग्मी(लामिछाने)को उम्मेद्धारी दर्ता भएको छ ।
दुई सदस्य लेखा समितिमा हरिकुमार राई,हरिप्रसाद नेपाल,भिविन्द्र प्रसाद न्यौपाने,प्रदिप कडरिया र कुष्ण कुमार भण्डारीको उम्मेद्धवारी परेको बताएको छ । मतदान चैत २३ गते शुक्रवार दमक- ८ स्थित अर्गानिक सब्जी मण्डीमा गरिने निर्णय भएको निर्वाचन समिति संयोजक निरौलाले बताए ।नेतृत्व छान्न विभिन्न ६ वटा क्लष्टरका ६ हजार ५ सय बढी मतदाताहरुले मतदानमा भाग लिने छन् ।
दमक खानेपानीमा पछिल्लो करोडौंको परियोजना भित्रिने भएपछि यहाँको नेतृत्व चयनका लागि यहाँ राजनीतिक दलको आडमा नेतृत्व हत्याउनेमा ति दल भित्रका कैंयौं उम्मेदवारहरु लागेका हुन् ।