पथरी शनिश्चरेमा ‘क्षयरोग अन्त्य’ विषयक वक्तृत्वकला प्रतियोगिता

पथरीशनिश्चरे, १२ चैत ।विश्व क्षयरोग दिवस २०८१ को अवसरमा पथरी शनिश्चरे नगरपालिकामा ‘क्षयरोग अन्त्यमा हाम्रो भूमिका’ विषयक अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

आज मंगलबार पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो।प्रतियोगिता स्वास्थ्य शाखा पथरीशनिश्चरेको आयोजना तथा बीएनएमटी नेपाल, चेन्ज टिभी, र स्टप टिभी पार्टनरसिपको सहकार्यमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्बापोले ‘क्षयरोग पूर्ण रूपमा उपचार योग्य रोग हो भएकाले यसलाई अन्त्य गर्न हामी सबैको सक्रिय सहभागिता आवश्यक भएको जोड दिए । नगरपालिकाले क्षयरोग रोकथाम र उपचारका लागि विभिन्न योजनाहरू सञ्चालन गरिरहेको भन्दै उनले समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न आवश्यक भएको औल्याए ।
प्रतियोगितामा नगर भित्रका ६ विद्यालयका ९ विद्यार्थी सहभागी थिए । प्रतियोगितामा वाल्मीकि विद्यालयकी रक्षा अधिकारी प्रथम, एभरेस्ट माविकी विप्रसा भण्डारी दोस्रो र ब्राइट सनराइजकी दिपिका उराउले तेस्रो स्थान हासिल गरिन् । विजेताहरूलाई क्रमशः ३ हजार २ हजार, १ हजार नगद पुरस्कार सहित ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले स्वागत मन्तव्य राखेका थिए भने नगर उपप्रमुख देविमाया काफ्ले, लेखा शाखा प्रमुख पिताम्बर वस्ती, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, शिक्षा शाखा प्रमुख नवीन खुलाल, योजना शाखा प्रमुख शिव कुमार राई, महिला विकास शाखा प्रमुख गीता कट्टेल, जनस्वास्थ्य अधिकृत जगत मगर, क्षयरोग मुक्त नगर घोषणा अभियान संयोजक मुकेश पौडेल, बीएनएमटी नेपालका रामप्रसाद कोईराला, क्षयरोगका अनुभवी व्यक्ति एवम् पूर्व क्षयरोग, कुष्ठरोग अधिकृत ध्रुब उराउ लगायत स्वास्थ्यकर्मी, विद्यालय प्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published.