प्रजातन्त्र सेनानी राईको स्मृतिमा सम्मान तथा सहयोग

दमक ११ चैत । प्रजातान्त्रिक आन्दोलनका सेनानी स्वर्गीय मुगाधन राईको १७ औं स्मृतिमा मुगाधन–कृष्णकुमारी राई स्मृति प्रतिष्ठानले शनिबार दमक –१० का ज्येष्ठ बृद्धबृद्धाहरुलाई सम्मान तथा फलफुल वितरण गरेको छ ।
प्रतिष्ठानले दमक -१० स्थित स्वर्गीय राईका परिवारको निवासमा औपचारिक कार्यक्रम गरी १५ जना भन्दा बढी स्थानीय ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित नगद र फलफुल वितरण गरेको हो । प्रतिष्ठानकी अध्यक्ष एवं संविधान सभा सदस्य समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले प्रजातन्त्र स्थापनाका लागि बुबा स्वर्गीय मुगाधन र आमा कृष्णकुमारीको योगदानको स्मरण गरे ।
प्रतिष्ठानका संस्थापक परिवारका सदस्यद्धय नेतृ लिम्बू र रन्दिप राईले स्वर्गीय माता पिताको स्मृतिमा यस किसिमका सेवामुलक कार्यक्रम गर्ने अवसर पाएकोमा सन्तुष्ट व्यक्त गरे । सो अवसरमा प्रतिष्ठानले कांग्रेस दमक १० को वडा पार्टी कार्यालय सञ्चालनमा सहयोग स्वरुप फर्निचरका समानसहित प्रदान गरेको छ ।
कार्यक्रममा दमक १० का वडाध्यक्ष राजेन्द्र भण्डारी, कांग्रेसका एक नम्बर प्रदेश समिति सदस्य भुमिराज राई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, नगर सभापति प्रकाश प्रसाइँ, कांग्रेस नेता एवं सामाजिक व्यक्तित्वहरु देवीप्रसाद दाहाल, दिलबहादुर बुढाथोकी, घनश्याम खनाल, खेम दाहाल लगायत प्रतिष्ठानका पदाधिकारी सदस्य एवं कांग्रेस नेता, कार्यकर्ताहरुको उल्लेखीय उपस्थिति रहेको प्रतिष्ठानका सचिव पर्शुराम रिजालले बताए ।

Leave a Reply

Your email address will not be published.