दमक,१२ चैत । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा दमकसहित देशव्यापी विरोध प्रदर्शन निकालिएका छन् ।
यसैक्रममा माओवादी केन्द्रले दमकमा मंगलवार दमक चोकमा विरोध प्रदर्शन गरेको छ । आकासे पुलमा संक्षिप्त कोणसभा गरि सरकारले ऊर्जा क्षेत्रको राजनीतिकरण बन्द गर्न आग्रह गरेका छन् । प्रदर्शनकारीहरूले सरकारलाई भ्रष्टाचारी भन्दै नाराबाजी गरेका थिए। उनीहरूले घिसिङको पुनर्बहालीको माग गरेका थिए ।यसैगरि, माओवादी केन्द्र कमल गाउँ कमिटीले पाडाजुंगीमा विरोध प्रर्दशन निकालेका छन् ।
माओवादीनिकट योङ कम्युनिस्ट लिग (वाइसिएल ) झापाको अगुवाईमा आज साँझ बिर्तामोडमा मसाल जुलुस निकालिएको छ । बिर्तामोड–१ स्थित पश्चिम स्टेन्डबाट वाइसिएल जिल्ला कमिटी झापाको आयोजनामा जिल्ला अध्यक्ष डेविड शाही ठकुरीको नेतृत्वमा निकालिएको जुलुसमा कोशी प्रदेश अध्यक्ष कुमार आचार्य , जिल्ला इन्चार्ज राजु आचार्य ( अग्नि ), बिर्तामोड नगर अध्यक्ष सिवन दर्नाल, जिल्ला कमिटी सदस्यहरु , गाउँ कमिटी अध्यक्षलगायतको सहभागिता रहेको थियो । जुलुस पश्चिम स्टेन्ड, अधुवा खोला हुँदै मुक्तिचोक पुगेर कोणसभामा परिणत भएको थियो ।
यसैगरि, दुधेमा नेकपा (माओवादी केन्द्र)सहित राप्रपा,लिम्बूवान पार्टीले पनि आज साँझ विरोध प्रर्दशन गरेका छन् । विरोध प्रर्दशन पछि त्यहाँ आयोजित विरोध सभामा माओवादीका पूर्व नगर कमिटी अध्यक्ष्ँ महेन्द्र भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा अधिबक्ता रुद्रमणी भट्टराई र संघीय लिम्बूवान लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता किरण लिङदेनले सरकारले कुलमानलाई हटाउने कार्य तुरुन्त फिर्ता लिनुपर्ने औल्याए ।
उनीहरुले सरकार विरोधी नारावाजी समेत गरेर विरोध प्रर्दशनमा उत्रिएका माओवादी केन्द्र शिबसताक्षी नगर कमिटीका अध्यक्ष दुर्गा नेम्बाङले जानकारी दिए ।
यसैगरि, राष्ट्रिय स्वतन्त्र पार्टी कनकाई नगर समितिले आज साँझ कन्काईमा विरोध प्रर्दशन निकालेको छ । उता मंगलवार बिहान भोजपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । भोजपुर क्याम्पसका स्ववियु सभापति सोभित तामाङको नेतृत्वमा विद्यार्थीहरुले विरोध र्याली निकालेका थिए ।
माओवादी निकट वाइसिएल र विद्यार्थीहरुले विराटनगरको ट्राफिक चौकमा विरोध प्रदर्शन गरेका छन् । विराटनगरमा उनीहरुले प्रर्दशनका क्रममा घिसिङलाई पुनःबहालीको माग गरेका थिए । सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको थियो । सो निर्णयको विरुद्धमा मंगलबार देशभर विभिन्न रुपमा विरोध प्रदर्शनहरु भएका छन् ।