झापा,१० चैत। कोशी प्रदेश नामाङ्कन खारेजीको मागसहित पहिचानवादी समूहले गरेको बिराटनगर प्रदर्शनमा घाइते भएका पदम लिम्बू (लाजेहाङ ) को शुक्रबार मृत्यु भएको छ । उनलाई शहीद घोषणा गर्नुपर्ने संघर्ष समितिले माग गरेको छ ।
आज बिहान उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको थियो । उनलाई शहीद घोषणा गरी प्रदेशको पुनः नामकरणको माग गर्ने निर्णय संयुक्त सङ्घर्ष समितिले गरेको छ ।
चैैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको लाठी प्रहारबाट गम्भीर घाइते भएका लिम्बूको प्रतिष्ठानको आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो । ४२ वर्षीय लिम्बू सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए ।
आफुहरुले अगाडि सारेको माग राज्यले सम्बोधन नगरेसम्म मृतकको शव नबुझ्ने साथै आन्दोलन अगाडि बढाउने निर्णय समितिले गरेको छ । सङ्घर्ष समितिको शुक्रबार काठमाडौंमा बसेको आपतकालिन बैठकले सो निर्णय गरेको किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले जानकारी दिईन्।
प्रदेशको नाम कोशी खारेज गरी पहिचानको आधारमा पुनः नामाङ्कनका लागि गरेको माग सम्बोधन नहुन्जेल तथा लाजेहाङलाई राज्यले शहीद घोषणा गरी क्षतिपूर्ति नगरुन्जेल मृतकको शव जिम्मा नलिने निर्णय भएको उनको भनाइ छ ।
महासचिव तुम्बापोका अनुसार भोलि चैत ११ गते प्रदेशभरी केही घण्टा चक्काजाम गर्ने निर्णय पनि समितिले गरेको छ । यसैबीच, घट्नाको छानबिन गर्न आयोग गठनको मागसहित सङ्घर्ष समितिले संयुक्त राष्ट्रसङ्घ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको छ ।
यसैबीच प्रदेश न. १ पुनः नामांकन संयुक्त संघर्ष समिति,जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी लाजेहाङ लिम्बूको हत्याको जिम्मा प्रदेश १ लाई कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवम नेपाल प्रहरीले लिनु पर्ने बताएका छन् । उनीहरुले लाजेहाङ लिम्बूको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र लाजेहाङलाई सहिद घोषणा गर्न जोडदार माग गरेका छन् ।
यसैगरि आज साँझ सो घटनाको विरोधमा प्रदेशका विभिन्न शहर,वजारमा प्रर्दशन गरिएका छन् । संयुक्त संघर्ष समिति इलामले प्रदेश मुख्यमन्त्री हिक्मत कार्की र प्रदेशसभा सदस्य राम रानाको पुत्ला दहन गरेका छन् भने धरान, पथरी, इटहरी,विर्तामोडमा समेत प्रर्दशन निकालिएका छन् ।