ताप्लेजुङ, ७ चैत । नेकपा (माओवादी केन्द्र ) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा आक्रमणको प्रयास भएको छ ।प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्ट समूहले मंगलबार ताप्लेजुङ पुगेका आङ्बोमाथि आक्रमणको प्रयास गरेको हो ।
प्रहरीका अनुसार आङ्बो सवार गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बूका अनुसार फुङलिङ बजार आउने क्रममा आङ्बो सवार गाडीमाथि आक्रमण भएको हो । बजारभन्दा ७–८ किलोमिटर तल गाडीमाथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ । आक्रमण गर्नेको पहिचान नभएको बताउँदै डिएसपी लिम्बूले घटनाको अनुसन्धान भइहरेको बताए ।
प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नाम राख्नुपर्ने माग गर्दै आएको समूह आन्दोलनमा छ । सोमबार एक समूहले ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा आक्रमणको प्रयास गरेको थियो ।
मंगलबार पार्टीको कार्यक्रमका लागि ताप्लेजुङको फुङ्लिङ बजार जाने क्रममा आङ्बोमाथि आक्रमण प्रयास भएको हो । प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नाम राख्नुपर्ने माग गर्दै आएका समूहहरु आन्दोलनमा छन् ।