दमक, ६ चैत । दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य टिकाराम खतिवडाले आफनो जन्मदिनको अवसर पारेर दमकका अति विपन्न २५ परिवारको स्वास्थ्य बिमा गरिदिएका छन् ।मंगलवार संघको कार्यालयमा जन्मोत्सव विशेष कार्यक्रम गरि उनले दमकका अतिविपन्न २५ परिवारलाई छनौट गरि बिमा प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
दमक ६ निवासी कसमेटिक व्यवसायी खतिवडाले जन्मदिनमा मनाईने फजुल खर्चलाई निरुत्साहित गरि त्यसलाई विपन्नको स्वास्थ्य सेवामा उपयोग गरेको बताए । उनले स्वास्थ्य उपचारलाई प्राथमिकता दिएर बिमा नियमित गर्न नसकेका र बिमाको पहुँच नभएका अतिविपन्न परिवारलाई छनौट गरि यस किसिमको सामाजिक कार्यमा थोरै भएपनि सहयोग पुरयाँएको बताए ।उनका अनुसार बिमा गरिएका सेवाग्राहीले आगामी जेठबाट सुविधा प्राप्त गर्ने छन् ।
सो अवसरमा संघका अध्यक्ष गोपाल गुरागाई,वरिष्ठ उपाध्यक्ष राजु खड्का , तृतीय उपाध्यक्ष रुवल अधिकारी लगायतले युवा व्यवसायी खतिवडाको जन्मदिनलाई नयाँ पन मात्र नभएर समाजका लागि उदाहरणीय कार्य भएको भन्दै प्रंशसा गरेका थिए ।