दमक,५ चैत। स्वतन्त्र विद्यार्थी युनियन, पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका केशर थुलुङ निर्वाचित भएका छन् । आइतबार राती करिब १० बजे सम्पन्न अन्तिम मत परिणामअनुसार नेपाल विद्यार्थी सङ्घका थुलुङले ३ सय ७० मत प्राप्त गरि सभापतिमा विजय भएका हुन् । उनले अनेरास्ववियूका उज्वल लकान्द्रीलाई पराजित गरे । लकान्द्रीले १ सय ७६ मत पाए । सचिब पदमा सङ्घका भुपाल खतिवडाले ३ सय ६० मत ल्यार्इ विजयी भए । उनका प्रतिष्पर्धी अनेरास्ववियुका रोशन कटुवालले १ सय ७९ मत ल्याए । कोषाध्यक्षमा खगिन मगरले सोनिया ग्यावा तामाङलाई हराए । सङ्घका मगरले ३ सय ५२ मत र अनेरास्ववियुका तामाङ्ले १ मत ७९ प्राप्त गरे ।
गौरादहस्थित गौरादह कृषि क्याम्पस र गौरीगञ्ज बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियू विजयी भएको छ ।
गौरादह कृषि क्याम्पसको स्ववियू सभापतिमा अनेरास्ववियुका विक्रम तिवारी, सचिवमा पूर्णबहादुर राना र कोषाध्यक्ष झरना सुवेदीसहितको टिम विजयी भएको जनाइएको छ । त्यस्तै, गौरीगञ्ज बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अनेरास्ववियुका इस्तप हुसेन ,सचिवमा निरबहादुर प्रधान र कोषाध्यक्षमा निरज मान्जीसहितको टिम विजयी भएका छन् ।
१०६ क्याम्पसमा स्ववियू नेतृत्व निर्विरोध
देशभर सञ्चालित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू ) को निर्वाचन अन्तरगत विभिन्न १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ।जसअनुसार कोशी प्रदेशका २१ क्याम्पसमा निर्विरोध नेतृत्व चयन हुँदा बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ क्याम्पसमा निर्विरोध स्ववियू चयन गरिएको हो । त्रिवि स्रोतका अनुसार देशभर स्ववियु चुनाव हुने क्याम्पसको संख्या ४४८ वटा रहेकोमा २८४ क्याम्पसमा मनोनयन दर्ता भएको थियो । यस्तै १०० वटा क्याम्पसमा विवादका कारण मनोनयन नै दर्ता हुन सकेको थिएन । पछि विभिन्न क्याम्पसमा विवाद हुँदा थप १४ वटामा पनि निर्वाचन अवरुद्ध हुन पुगेपछि आइतबार निर्वाचन हुन नसकेका क्याम्पसको संख्या ११४ रहेको स्रोतले जनाएको छ । आज विभिन्न २१७ क्याम्पसमा चुनाव भएको छ ।