-छविराज ढकाल
पथरीशनिश्चरे,४ चैत । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं ८ को दोहोलु शुक्रबारेमा समरपम्पबाट सिँचाइ सुविधा उपभोग गर्न पाएपछि स्थानीय वडावासीहरु यतिबेला मकै, धान, सागसब्जी जस्ता बाली लगाएर हर्षित भएका छन ।
वर्षौं अगाडिदेखि भौगोलिक विकटता र आकाशे पानीको भर पर्दै आएका स्थानीयहरूलाई अहिले सिँचाई सुविधा पुगेसँगै उनीहरूमा खुशी छाएको हो ।केही वर्ष अगाडि सम्म शुक्रबारे गाउँका स्थानीयहरुले वडा कार्यालयबाट सिचाई सुविधा उपलब्ध होला भनेर सोचेका सम्म थिएनन्।
नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास कार्यक्रम अन्तर्गत तराई मधेश समृद्धि कार्यक्रमबाट विनियोजन भएको बजेटबाट समरपम्प’ गाडेर पायपद्वारा टोल टोलमा सिंचाईको लागि पानी पुगेपछि स्थानीयहरुले यतिबेला उन्नत जातको मकै र चैते लगाएका छन्।विगतमा यतिबेला चैते खडेरीमा उराठ लाग्दो हरियो मकै र धानका बेर्नाहरू रोपेका सकिन्छ ।गत असार महिनादेखि यहाँका मानिसहरुले समरपम्पको सहायतामा सिँचाइ सुविधा उपभोग गरिआएका सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष नारायण पाण्डेले बताए ।
उनले करिब १ करोड रुपैयाँको लागतमा ४ सय २० मिटर ’डिब वोरिङ’ गरी पाँच भोल्टको मिटर बक्सबाट एक सय मिटरको फरकमा ’आउटलेट’ पाइपहरू राखिएको र अहिले ६० बिगाहालाई मज्जाले धान्ने बताए ।
यसैगरी, सोही सिँचाइ सुविधा उपभोग गर्दै आएका किसान महेन्द्रबहादुर बिष्टले आफुले अस्ति मङ्सिरदेखि मकै र धान दुवै बाली लगाएको बताए। सिंचाई सुविधाबाट सन्तुष्ट भएको बताउँदै १५ कठ्ठा जमिनमा ’हाइब्रिड’ मकै र धान रोपेको उनले बताए ।
समरपम्पको आवश्यकता महसूस गरी दोहलु शुक्रबारे टोलहरुमा डाँडाको क्षेत्र भएकाले डाँस खोलाको पानी ल्याएर सिँचाई गर्ने प्रयास गरिए पनि सम्भव नभएपछि वि.सं २०५५-०५६ तिर तत्कालीन जनप्रतिनिधिहरूकै पालामा संघीय सरकारमा पहल भएको थियो। सोहीअनुसार नै हाल दोहोलु शुक्रबारेमा पाँच ’वाट’को बिजुली मिटर बक्स राखेर समरप्पबाट सिंचाई सुविधा उपलब्ध भइरहेको पथरीशनिश्चरे- ८ का वडाध्यक्ष नवीनजंग कार्कीले जानकारी दिए ।
कोशी प्रदेश सरकारको सहकार्यमा सोहि वडाको शान्ति टोलका स्थानीय किसानहरूको लागि पनि डाँस खोलाको पानी लिफ्टिङ गरी थप ६० बिघा जमिन क्षेत्रमा सिँचाई उपलब्ध गराउन थप अर्को योजना पेश भएको उनले बताए ।
हालसम्ममा पथरी शनिश्चरे वडा नं ४, ५, ८ र १० मा पनि ’डीप बोरिङ’ गरी सिँचाई सुविधा उपलब्ध गराउन विभिन्न आयोजनाहरू सञ्चालन भइरहेका छन्।