दमक, ३ चैत । झापाको कमल गाउँपालिकाको प्रशासनिक तथा कमल नगर अस्पतालको भवन निर्माण गर्न सहमति जुटेको छ ।गाउँपालिकाले सर्वदलीय बैठकको आयोजना गरि पालिकाको प्रशासनिक भवन तथा अस्पतालको भवन कमल -२ क्याम्पमानै निर्माण गर्ने सहमति जुटेको हो । यसअघि दुवै योजना निर्माणका विषयमा लामोसमयदेखि विवाद हुदैआएको थियो ।
पालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षता विहिबार जनप्रतिनिधिहरुसहित सर्वदलिय बैठकले दुवै विषयमा व्यापक छलफल गरि उक्त निष्कर्षमा पुगेको गाउँपालिकाले जनाएको छ । बैठकमा कमलका ७ वटै वडाका वडाअध्यक्षसहित स्थानीय राजनीतिक दलका नेतृत्वहरुको सहभागिता थियो ।
प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यका अनुसार गाउँपालिकाको केन्द हाल रहेको स्थानमा नै नेपाल सरकारले तोकेको हुदाँ सोही स्थानमा नै प्रशासनिक भवन निर्माणको प्रकृया शुरु गर्ने तथा अस्पतालको भवन निर्माण गर्न हालको अस्पताल आसपासमा जग्गा व्यवस्थापन गर्न कमल २ का वडाअध्यक्ष अशोक लिम्बूको संयोजकत्वमा पाँच सदस्यीय एक अध्ययन समिति गठन गरिएको छ ।
जग्गा व्यवस्थापन गठित सहजीकरण समितिको सदस्यहरुमा कमल -१ का वडाअध्यक्ष केदार कटुवाल , कमल -३ का वडाअध्यक्ष अग्नीप्रसाद कोइराला, ४ का वडाअध्यक्ष चन्द्रप्रसाद भट्टराई र सदस्य सचिवमा कमल -२ का वडा सचिव देवी प्रसाद फूयल रहेका छन् । सो समितिले जग्गा व्यवस्थापनका लागि आवश्यक प्रकृया अघि बढाएर छिटो भन्दा छिटो जग्गा व्यवस्थापनको काम सम्पन्न गरिने संयोजक लिम्बूले जानकारी दिए ।
कमल नगर अस्पताल हाल पूरानो स्वास्थ्य चौकीको भवनमा सञ्चालन हुदै आएको छ । अस्पतालको भवन हाल सञ्चालन हुदै स्थानमा असुविधा पुग्ने भएको र नेपाल सरकारले अस्पताल निर्माणका लागि ठेक्का आव्हान भई संझौता भईसकेको उल्लेख छ । बैठकले अस्पताल निर्माणको संझौतामा निर्माण कम्पन्नीले भने संझौता तोड्न निवदेन दिईसकेको हुदाँ त्यसबारे त्यसबारे निर्माण कम्पन्नी आवश्यक छलफल गरी संझौतामा निरन्तरता दिने वा रद्द गर्ने भन्ने विषयमा आवश्यक प्रचलित कानुन बमोजिम कामकारवाही अघि बढाउने समेत निर्णय भएको जनाईएको छ ।
यसैवीच, पालिकाको सो निर्णय सार्वजनिक भएपछि साविक लखनपुर क्षेत्रका बासिन्दाहरुले असन्तुष्टि जनाएका छन् ।सामाजिक सञ्जालमा आफना विचार राखेर उनीहरुले पालिकाको प्रशासनिक तथा अस्पताल एकै स्थानमा राख्न उपयुक्त नभएको उल्लेख गरेका छन् । साविक लखनपुर र तोपगाछी गाविसलाई गाभेर कमल गाउँपालिका कायम गरिएपनि पालिकाको केन्द्र र अस्पताल साविक तोपागाछीमा केन्द्रीत हुदाँ पालिकाको साविक लखनपुर क्षेत्रका बासिन्दाहरु अन्यायमा परेको उल्लेख गरेका छन् ।