-अध्यक्षतर्फ दमकमा ८ , कन्काईमा ७ ,मेचीमा ६जना उम्मेदवार
झापा, ३ चैत । यहि चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झापामा तीब्र प्रतिष्पर्धा हुने भएको छ । निर्वाचन नजिकिएसंगै नेतृत्वका लागि दलीय तथा स्वतन्त्र संगठनले आन्तरिक कसरत तीव्र बनाउदै लगेका छन् । जिल्लाको ठुलो क्याम्पस मेची क्याम्पस र दमकको दमक बहुमुखी क्याम्पसमा चुनावी रौनक पेचिलो बन्दै गएको छ ।
स्ववियूमा यसअघि नेविसंघले अधिकांसमा जित निकाले पनि यो निर्वाचनमा आफनो बर्चश्व कायम गर्न निकै सकस पर्ने अनुमान गरिएको छ । कतिपय क्याम्पसमा एक जना अध्यक्ष पदका लागि ८ जनासम्मले उम्मेद्वारी दिएका छन् । झापामा नेपाली काग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियूसंगठन वीच नै प्रतिष्पर्धा हुने देखिएको छ ।
जिल्लाका १३ वटा क्याम्पसमा निर्वाचन हुन लागेको ती क्याम्पसहरुमा प्रत्यक्षतर्फ ३३२ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । झापामा १३ हजार ३१९ जना विद्यार्थीहरुले स्ववियू निर्वाचनमा भाग लिने भएका छन् ।
दमकमा ८ जनाको उम्मेदवारी
सबैभन्दा धेरै दमक बहुमुखी क्याम्पसमा अध्यक्ष पदका लागि ८ जनाले उम्मेद्वारी दिएका हुन् । निशम अधिकारी (अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन) , दिपक लिम्बू (स्वतन्त्र) , पर्वत बस्नेत (स्वतन्त्र) , पेमा डोल्मा तामाङ ( अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन( क्रान्तिकारी ), प्रविना भट्टराई ( अखिल समाजवादी ), भुपेन्द्र बस्नेत (भुवन)–स्वतन्त्र , रश्मि उप्रेती ( हामी स्वतन्त्र छौ समूह ) र सायन साम्पाङ राईले नेपाल विद्यार्थी संघबाट उम्मेद्वारी दिएका छन् ।
दमकमा नेविसंघबाट अध्यक्षका उम्मेदवार चयनमा सहमति नबन्दा राईसहित तीन जनाको उम्मेदवारी परेको छ । राईसहित भुपेन्द्र र दिपक लिम्बू अध्यक्षका उम्मेदवार भएका छन् । ती मध्ये लिम्बू स्ववियू सचिव हुन् भने अन्य दुई भने स्ववियू सदस्य हुन् ।
दमक बहुमुखी क्याम्पसमा अध्यक्षका ८ उम्मेद्वारसहित ३३ जनाले उम्मेद्वारी दिएका छन् । दमकमा ३७०२ जना विद्यार्थी मतदाता रहेको जनाइएको छ ।
कनकाईमा ७ जना उम्मेदवार
दमकपछि कन्काई बहुमुखी क्याम्पस सुरुङ्गामा ७ जनाले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । नेपाल विद्यार्थी संघबाट वासुदेव निरौला , राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट कुशल भट्टराई , अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनबाट सुनिराम मुर्मूृ , अर्को अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनबाट उत्तम लोहार , अखिल क्रािन्तकारीबाट अनुप भण्डारी , स्वतन्त्रबाट बिट्टु शाह र मनोज तिम्सिनाले अध्यक्षमा उम्मेद्वारी दिएका हुन् । त्यहाँ अध्यक्षका ७ सहित जम्मा ३७ जनाले उम्मेद्वारी दिएका छन् । कन्काई बहुमुखी क्याम्पस सुरुङ्गामा १०९१ जना मतदाता रहेका छन् ।
मेची बहुमुखीमा ६जना उम्मेदवार
त्यस्तै जिल्लाको सबैभन्दा पुरानो आंगिक क्याम्पस मेची बहुमुखी क्याम्पसमा ६ जनाले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । स्वतन्त्र विद्यार्थी कल्याण परिषदबाट हेमराज गौतम , नेपाल विद्यार्थी संघबाट निलम कार्की , स्वतन्त्रबाट गौरव कानु , अखिल क्रान्तिकारीबाट शिखर पौड्याल , अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबाट प्रन्सल मगर र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट अम्बिर अधिकारीले अध्यक्षमा उम्मेद्वारी दिएका हुन् । २९०५ जना मतदाता रहेको मेची क्याम्पसमा अध्यक्षका ६ सहित ४३ जनाले उम्मेद्वारी दिएका छन् ।
गौरादह,गौरीगञ्ज,शनिश्चरे लगायतमा ३ जना उम्मेदवार
त्यस्तै गौरादह कृषि क्याम्पसमा अध्यक्षका ३ सहित १९ , गौरादह बहुमुखी क्याम्पसमा अध्यक्षका २ सहित २६ , गौरीगञ्ज क्याम्पसमा अध्यक्षका ३ सहित १८ , सीतारमेश क्याम्पसमा अध्यक्षका ३ सहित २५, शनिश्चरे बहुमुखी क्याम्पसमा अध्यक्षका २ सहित १६ , गरामनी क्याम्पसमा अध्यक्षका ३ सहित १५ , काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्यक्षका ३ सहित २४ , त्रिदेव क्याम्पसमा अध्यक्षका ३ सहित १९ , इन्द्रचन्द्र क्याम्पसमा अध्यक्षका ३ सहित २९ र कन्काई आदर्श क्याम्पसमा अध्यक्षका २ सहित २० जनाले उम्मेद्वारी दिएका छन् ।