दमक ,१ चैत । दमक प्रज्ञा प्रतिष्ठानले यहाँ अन्तरविद्यालय कविता प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा दमक नगर क्षेत्रभित्रका १६ वटा निजी तथा सामुदायिक विद्यालयका ३० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए ।
आधारभूत र माध्यमिक गरी दुई तहमा आयोजित प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले समसामयिक विषयलाई कवितामार्फत सशक्त रूपमा प्रस्तुत गरेका थिए । पछिल्लो समय बढ्दो मोबाइल प्रयोग, त्यसले बालबालिकाको जीवनमा पारेको प्रभाव र त्यसबाट देखिएका सामाजिक परिणामहरूबारे केही प्रतियोगीले गहिरो भावसहित कविता वाचन गरेका थिए ।त्यस्तै, देशप्रेम र राष्ट्रभक्तिको भावसहितका आफ्ना कविताहरुमार्फत देशका कथा बोलेका थिए ।
कार्यक्रममा दमकका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै साहित्य र सिर्जनाबाट समाजलाई दिशा दिने वरिष्ठ साहित्यकारहरूको पनि उल्लेखनीय उपस्थिति रहेको दमक प्रज्ञा प्रतिष्ठानका सचिव जयबहादुर श्रेष्ठले जानकारी दिए ।
दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. गोपाल भण्डारीको अध्यक्षतामा भएको सो प्रतियोगिताको निर्णायकहरुमा नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य सुमित्रा वाङ्देल चेली तथा वाङ्मय साहित्यका अग्रज व्यक्तित्व प्राध्यापक डा. बद्री विशाल पोखरेल रहेका थिए ।
प्रतियोगितामा माध्यमिक तहतर्फ झापा मोडल अंग्रेजी बोर्डिङ स्कुल (जेम्स)मा कक्षा -११ का विद्यार्थी अभिमन्यु चापागाईं प्रथम , दमक- १० स्थित सिंहदेवी माध्यमिक विद्यालय कक्षा -१० की छात्रा सुम्निमा राई, प्रजिता एकेडेमीका पृपेश श्रेष्ठ तृतीय भए भने सरस्वती माध्यमिक विद्यालय, दमक–९ का वसन्त शिशिर तथा सर्वोदय अंग्रेजी बोर्डिङ स्कुलका इसान केरुङले सान्तवना स्थान प्राप्त गरेका थिए ।
आधारभूत तहतर्फ चर्चित नेपाल प्रथम, गृष्मा अधिकारी द्वितीय तथा तृपा कार्की तृतीय भए । चन्द्रकला शंकर र हाङमा लिम्बूले सान्त्वना स्थान प्राप्त गरेकी प्रतिष्ठानका सदस्य धनकुटे कान्छाले जानकारी दिए । प्रतियोगिताका विजेताहरूलाई समान क्रमशः १०–१० हजार, ७–७ हजार, ५–५ हजार र सान्त्वनातर्फ २५–२५ सय रुपैयाँ नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।