धरान, १ चैत। न्यूरोड टिम (एनआरटी ) धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।धरान रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा एनआरटीले काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई टाइब्रेकरमा ५–४ गोलले हरायो । फाइनलमा एनआरटीले मोरङ फुटबल क्लबसँग खेल्नेछ ।
टाइब्रेकरमा काँकडभिट्टाका विशाल घलानको प्रहारलाई एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले रोकेपछि एनआरटी फाइनलमा पुगेको थियो । ट्राइबेकरमा एनआरटीका सरोज तामाङ, जय गुरुङ, शिशिर लेखी, मोहित गुरुङ र सनम लिम्बूले गोल गरे । काँकडभिट्टाका लागी दिवस उराव, विमल घर्तीमगर, अभिषेक गुरुङ र देवेन्द्र तामाङले गोल गरेका थिए ।
एनआरटीका सरोज तामाङ म्यान अफ दि म्याचबाट पुरस्कृत भए । उनले १० हजार रुपियाँ पुरस्कार पाए । शनिबार हुने फाइनल खेलको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछन् ।