प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते

झापा,२९ फागुन । लोकतन्त्रवादी पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी जेठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ ।
प्रेस युनियन केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जानकारी दिए। युनियनले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समिति, निर्वाचन समिति र अन्य विभिन्न छ वटा उपसमिति समेत गठन गरेको छ । अध्यक्ष सिग्देलले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि जुट्न सम्पूर्ण प्रेस युनियनकर्मीहरुलाई हार्दिक आह्वान गरेका छन् ।
प्रेस चौतारी नेपालको अध्यक्षमा पुनःबस्नेत
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित भएका छन्। पोखरामा सम्पन्न नवौ महाधिवेशनबाट बस्नेत पुनःअध्यक्षमा निर्वाचित भएका हुन्।
आगामी तीन वर्षे कार्यकाल रहेको सो अधिवेशनबाट कूल १५१ सदस्यीय कमिटी गठन गरेको हो । गठित केन्द्रीय कमिटीको तीन उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई ,महिला उपाध्यक्षमा देविका घर्ती ,महासचिवमा हिरामान लामा र उपमहासचिवमा राजु सुवेदी र शुरोजवजङ्ग पाण्डे चुनिएका छन् ।
सचिव पदमा प्रदेश नं १ को सचिवमा विक्रम लुईंटेल, मधेस प्रदेशमा कमल उपाध्याय, बागमतीबाट विष्णु तारुके, गण्डकीबाट सुष्मा पौडेल, लुम्बिनीबाट प्रदीप आचार्य, कर्णालीबाट विष्णु शर्मा र सुदूरपश्चिमबाट लोकसरी कुँवर र प्रतिष्ठान सचिवमा हरिबल्लभ नेपाल तथा कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् । त्यसैगरी १४ सदस्यीय अनुशासन आयोग, १७ सदस्यीय निर्वाचन आयोग र १५ सदस्यीय लेखा आयोग सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिका संयोजक रघु मैनालीले जानकारी दिए।
फागुन २७ र २८ गते दुईदिने अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.