
दमक ,२९ फागुन । ‘लुङा’पत्रिकाका सम्पादक तथा प्रकाशक सेसेमी से–नाल्वो सम्मानित भएका छन् । किरात याक्थुङ चुम्लुङका आजीवन सदस्य समेत पत्रकार नाल्बोलाई चुम्लुङमा स्थापना गरिएको ‘कियाचु युवराज पत्रकारिता पुरस्कार –२०७८’ बाट सम्मानित गरिएको हो ।
पाँचथरको फिदीममा शुरु भएको चुम्लुङको ११ औं राष्ट्रिय महाधिबेशन उद्घाटन समारोहमा नाल्वोलाई सम्मान प्रदान गरिएको थियो ।
भाषिक पत्रकारितामा लामोसमयदेखि कृयाशील नाल्वोलाई लिम्बू पत्रकार संघका पूर्व अध्यक्ष स्व.युवराज लिम्बूको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट सम्मान प्रदान गरिएको थियो । उनलाई प्रदेश न १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबोले सम्मान प्रदान गरेका थिए ।
दमक ७ निवासी अग्रज पत्रकार नाल्वो तीन दशकदेखि भाषिक तथा नेपाली पत्रकारिताका क्षेत्रमा क्रियाशील छन् ।