झापा, २८फागुन । साविक १ नं प्रदेशलाई नामांकन गरिएको कोशी प्रदेश खारेजीको मागसहित बन्द गराउँदै हिड्ने २५ जना प्रर्दशनकारीलाई झापाबाट समातेको छ । पहिचानवादी राजनीतिक दल तथा जातिय संस्थाहरुले प्रदेश नामकरणमा असन्तुष्टि जनाउदै जारी आन्दोलनको कार्यक्रम अन्तर्गत आज प्रदेशव्यापी आमहड्तालको आयोजना गरेका छन् । आमहड्ताललाई सफल बनाउन आव्हान गदैं सडकमा उत्रिएका प्रर्दशनकारीहरुलाई ठाउँठाउँमा प्रहरीले धरपकड गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले अहिलेसम्म २५ जना बन्दकर्तालाई पक्राउ गरिएको बताए । उनका अनुसार दमकबाट ११ , बिर्तामोडबाट ८ , काँकडभिट्टाबाट ५ र चारआलीबाट एकजना पक्राउ परेका छन् । बिर्तामोडमा बन्दकर्ताहरुले एउटा ट्रक र अर्को कारलाई तोडफोड गरेको र ८ जना बन्दकर्तालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । दमकबाट पहिचानवादी नेताहरु प्रेमदिप थाम्सुहाङ्ग, योगेश मादेन ,याम लोरिङदेन ,श्याम मादेन ,बेनु लिम्बू ,अबि चेम्जोङ ,डिकबहादुर मादेन र महेन्द्र चाम्लिङ राई ,बन्दना नेम्बाङ्ग लगायत पक्राउ परेका छन् ।
विभिन्न राजनीतिक दल र जातीय संगठनहरुले झापासहित पूर्वका १४ जिल्लामा आज बन्दको आव्हानका कारण पूर्वको जनजीवन प्रभावित हुन पुगेको छ । वन्दकाक्रममा शैक्षिक संस्था, उद्योग,व्यापार, यात्रुवहाक गाडीहरु बन्द छन् । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएसंगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संगठनहरु उत्रिएका हुन् ।