दमकमा स्थानीय तथा रैथाने कृषि मेला शुरु (फोटोफिचर )

दमक ,२७ फागुन । अर्गानिक कृषि उत्पादनमा जोड दिने उद्देश्यले दमकमा आजदेखि स्थानीय तथा रैथाने कृषि मेला प्रर्दशनी शुरु भएको छ ।दमक नगरपालिका वडा नम्बर ८ स्थित अर्गानिक कृषि भवनमा शुरु भएको प्रदर्शनीको जिल्ला समन्वय समिति झापाका सभापति विश्वनाथ बरालले उद्घाटन गरे ।
दमक नगरपालिका वडा नं ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) को अध्यक्षतामा भएको प्रर्दशनी उद्घाटनमा बोल्दै वक्ताहरुले विषादीरहित कृषि उत्पादनमा लाग्न सके मात्र स्वस्थ्य शरीर ,निरोगी राष्ट्र बनाउन सकिने औल्याए । उनीहरुले स्थानीय तथा रैथाने कृषि मेला प्रर्दशनीले विषादी रहित रैथाने कृषिजन्य सामग्रीको उत्पादन र यसको वजारीकरणमा थप टेवा पुग्ने जोड दिएका थिए ।
जिसस प्रमुख बरालले सबै किसानहरुलाई बिषादीरहित उत्पादनमा लगाउन यस किसिमको कृषि उपजको प्रर्दशनीले कृषिको व्यवसायिक विकासमा नै टेवा पुग्ने सुनाए ।
किसानलाई कुनै पनि रासायनिक मल र विषादीको प्रयोग गर्नुको साटो प्राङ्गारिक मल प्रयोग गर्न प्रोत्साहन गर्दै त्यहाँ उत्पादित सामग्रीको प्रयोग बृद्धि गर्न पालिका सरकारले कार्यक्रम नै बनाएर लाग्नु पर्ने उनको सुझाव थियो ।
नगर प्रमुख रामकुमार थापाले मानव स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै विषादी रहित कृषिजन्य सामग्रीको उत्पादन बढाउँदै यही बजारमा ल्याएर बेच्ने र आर्थिक लाभ लिने गरिको काम गर्न दमक नगरपालिका तयार रहेको स्पष्ट पारे ।

उपप्रमुख रेगिना भट्टराई प्रसाईंले २०७६ मा सरस्वती माविको १० कठ्ठा जग्गा लिजमा लिएर नगर र प्रदेश सरकारको ३ करोड बढीको लागतमा कृषि भवन निर्माण गरिएको र अव त्यसलाई चाँडै सञ्चालनमा ल्याइने उल्लेख गरिन् । कार्यक्रममा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, मिक्लाजुङ गाउँपालिका अध्यक्ष बविकुमार राई लगायतले यसखाले प्रदर्शनीले छिमेकी पालिकाका किसानको उत्पादलाई समेत प्रोत्साहन मिलेको भन्दै कृषि बजारको सबैले सदुपयोग गर्न गर्नुपर्ने उल्लेख गरेका थिए ।
दमक नगरपालिका कृषि विकास शाखाले आयोजना गरेको प्रर्दशनीमा विभिन्न कृषि उत्पादक समूह,संस्थाका गरि ३० वटा स्थल रहेको कृषि शाखाकी प्रमुख चन्द्रा भट्टराईले जानकारी दिईन् । दुई दिनसम्ममा चल्ने प्रर्दशनीमा करिव १५ हजार जनाले मेलाको अवलोकन गर्ने उनले बताईन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीका अनुसार अर्गानिक कृषि बजारलाई छिट्टै नियमित सञ्चालनमा ल्याउँन पनि यस प्रर्दशनीले सहयोग पुग्ने छ । अर्गानिक कृषि बजारका सम्पूर्ण संरचना तयार भईसकेका र नगरपालिकाले अब यहाँ यस्तैखाले बजार लगाउन सकिन्छ भन्ने सन्देश दिन पनि पहिलो चरणमा कृषि प्रर्दशनी मेलाको आयोजना गरिएको उनको भनाई छ ।
प्रदर्शनीमा कृषि उत्पादनका साथै हस्तकलाका सामग्री, मल तथा बीउ बिजन साथै रैथाने खानाका गरि करिव ३५ वटा विभिन्न स्टलहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published.