दमक,२८ फागुन । झापाको दमक –९ स्थित शान्तिचौंकमा निर्माणाधीन दमक कभर्ड हलको पुनः निर्माण कार्य शुरु भएको छ । कर्भड हल निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत सरकारले चालु आर्थिक बर्षमा बिनीयोजित रु ८५ लाख ४६ हजार ३ सय ८३ रुपैयाको वजेटबाट निर्माणाधीन कभर्ड हल निर्माण थालिएको गठित निर्मांण उपभोक्ता समितिका अध्यक्ष केन्द्रबहादुर प्रसाईले बताए ।
कभर्ड हल परिषरमा सोमबार प्रदेश सभाका सदस्य होमबहादुर थापा, नम्बरलाल धिमाल लगायत सरोकारवालाहरु,खेलप्रेमीहरुको उपस्थितिमा औपचारिक कार्यक्रम गरि निर्माण कार्यलाई शुरुवात गरिएको हो । निर्माण कार्य शुभारम्भमा बोल्दै प्रदेश सांसदद्धयले यस कभर्ड हल निर्माणका लागि आफूहरुले सहयोग पुरयाँउने प्रतिवद्धता जनाएका थिए ।
एक दशकदेखि निर्माण शुरु भएको कभर्ड हलमा पर्याप्त वजेट नहुदाँ कभर्ड हलको संरचनानै जीर्ण बन्ने अवस्थामा पुगेको थियो । एक दशकदेखि शुरु भएको सो कर्भड हलमा घेराबेरा, सुरक्षा कक्ष ,पक्का भवन लगायतका प्रारम्भिक चरणका निकै काम भईसकेका छन् ।कभर्ड हलको विस्तृत लागत रु १४ करोड रहेको र हालसम्म ३ करोड बराबरका संरचना तयार भईसकेका अध्यक्ष प्रसाईले बताएका छन् ।
सो कभर्ड हल आजदेखि निर्माण कार्य शुरु भई आगामी जेठ १५ गते भित्रमा सम्पन्न गरिसक्ने संझौतामा उल्लेख छ ।
कभर्ड बनाउन नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक अमरसिंह साहले १० कठा जमीन निशुल्क दिएका थिए । दाता साहले आफना दिवंगत पितृको स्मृतिमा नारायण ज्योति बहुउद्देश्यीय कभर्ड हल बनाउन लाखौ मूल्य पर्ने ती जमीन निशुल्क दिएका थिए । तीनै जमीनमा नगरपालिकाले सुविधासम्पन्न कर्भड हल बनाउन शुरु गरिएको निर्माण उपभोक्ता समितिका सचिव अरुणकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार निर्माणाधीन कभर्ड हल पाँच तले सुविधासम्पन्न हुने छ । हल भित्र इन्डुवरका सवै खेल खेल्न सकिने मैदानदेखि दर्शक रहने कक्ष निर्माण गरिने योजना छ । दमकमा समुदायकै अगुवाईमा शुरु गरिएको यस किसिमको कभर्ड हल पहिलो भएको र यो नगरकै महत्वपूर्ण सम्पदा रहने उनको भनाई छ ।
दमक ९ का वडाअध्यक्ष कुवेर भट्टराईले निर्माणाधीन कभर्ड हलले गति लिने बताउँछन् । यसवर्ष संघीय सरकारबाट बिनयोजित वजेटले अधुरो काम सम्पन्न गर्न सहयोग पुग्ने उनको भनाई छ ।
कर्भड हलमा यतिका संरचना बनिएपनि थप योजनाका काम अघि बढ्न नसक्दा स्थानीयहरु भने स्थानीय सरकारले चासो दिनुपर्ने बताउँछन् ।