
कमल, २६ फागुन । झापाको कमलमा सञ्चालित प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा आज बिहिबारको क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ पकली सुनसरी र धनकुटा फुटबल क्लबबीच खेल हुने भएको छ ।
प्रतियोगिताका संयोजक तेजकुमार राईका अनुसार केर्खास्थित खेल मैदानमा हुने प्रतियोगिताको दोश्रो खेलमा दुवै टीम ष्पर्धामा उत्रिने भएका हुन् । यसअघि हिजो बुधबारको उद्घाटन खेलमा टेम्के फुटबल क्लब सुनसरीले विजयी सुरुवात गरेको छ । टेम्केले आयोजक समेत रहेको कमल गाउँपालिका खेलकुद विकास समितिलाई १–० ले पराजित गर्दै टेम्केले विजयी यात्रा सुरुवात गरेको हो ।
पहिलो हाफको २६औं मिनेटमा टेम्केका जनक कोइरालाले गोल गर्दै टिमलाई अग्रता दिलाएको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेलमा दुबै टिमले गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा थप गोल हुन सकेन ।
उद्घाटन खेलको प्लेयर अफ द म्याच टेम्केका स्टाइकर जनक कोइराला भए । उनले नगद २ हजार ५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगितामा धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेडहर्ष फुटबल क्लब इलाम, एपिएफ पकली सुनसरी, र आयोजक टिम कमल गाउँपालिका खेलकुद विकास समिति झापा रहेको छ ।
प्रतियोगिताको विजेताले नगर २ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगर १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ । खेलको म्यान अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडी साथै प्रतियोगिताको अर्वोत्कृष्ट खेलाडीहरु पुरस्कृत हुने खेलकुद विकास समितिका अध्यक्ष चतुरभुज सुवेदीले जानकारी दिए ।