
दमक,२५ फागुन । झापाको कमल गाउँपालिका -४ शान्तिपुरमा सासुको कुटाईबाट बुहारी सख्त घाईते भएकी छन् ।अन्तराष्ट्रिय नारी दिवसकै दिन मंगलबार दिउँसो ४ बजे तिर कमल -४ की स्थानीय २० बर्षिया प्रमिला पराजुलीलाई सासु पार्बती पराजुलीले चिर्पट र ढुंगाले हानेर घाईते बनाएको छिमेकीले बताएका छन् । सासुको चिर्पट र ढुंगा प्रहारबाट घाईते भएकी उनको दमक अस्पताल उपचार गरिएको थियो ।
टाउको र ढाडमा चोटका कारण थप उपचारका लागि अन्यत्र लैजान त्यहाँका चिकित्सकले सल्लाह दिएपनि उनलाई परिवारको दबाबका कारण घर ल्याएका थिए ।
दिनभर खेतमा मल बोकेर घर आएको बेला आफुसँग सासु पार्बतीको सामान्य बिवाद भएको र सासुले आफुलाई जगल्ट्याउँदै लडाएर चिर्पट र ढुंगाले हानेको घाईते पीडितले बताईन् । पराजुलीको परिवार गत चैतमा तेहथुमको आठराईबाट बसाई सरी आएर कमल- ४ शान्तिपुरमा बसोबास गर्दै आएको छ । घाईते प्रमिलाको श्रीमान् बैदेशिक रोजगारमा छन् । प्रमिलाको ३ बर्षिय एक छोरा छन् । अहिले सो घरमा घाईते प्रमिला , उनका ससुरा र सासु मात्र छन् । सासुले यस यसअघि पनि पटक पटक बुहारी प्रमिलालाई अनावश्यक बिवाद गरिरहने छिमेकीले जानकारी दिएका छन् । पराजुली परिवारले भने सो घटना लुकाउन पीडितलाई दबाब दिदैआएको बुझिएको छ ।