दमकमा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता

दमक,२५ फागुन । झापाको दमकमा दुई दिवसीय जिल्लास्तरीय आइटीएफ ( तेक्वान्दो) प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा झापा जिल्लास्थित विभिन्न ४५ वटा डोजाङका १६२ जना खेलाडी बिद्यार्थीहरुले भाग लिइरहेका छन् ।
दमक -७ स्थित पशुहाट मैदान परिसरमा आइटीएफ झापा जिल्ला समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको औपचारिक कार्यक्रमका बीच उदघाटन गरिएको छ ।आइटीएफ झापाका अध्यक्ष नविन तामाङको सभापतित्वमा भएको उदघाटन कार्यक्रमका प्रमुख अतिथी दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले खेलकुदको बिकासले स्थानीयस्तरको मात्रै नभएर मुलुककै बिकासमा महत्वपूर्ण योगदान दिने बताए । उनले यस किसिमका प्रतियोगिताहरुले स्थानीयस्तरमा खेलाडी उत्पादन, खेलकुदको संरक्षण र संवद्र्धनसँगै समग्र बिकासमा ठुलो टेवा मिल्ने जोड दिए ।
कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले खेल प्रतिभाले कुनै पनि खेलाडीको मात्रै नभएर सम्बन्धित ठाउँ र देशकै नाम फैलाउन मद्धत पुरयाउने भएकाले यस किसिमका प्रतियोगिता महत्वपूर्ण हुने उल्लेख गरिन् । उनले खेलकुदका माध्यमबाट समाजलाई अनुशासित बनाई राख्न र नागरिकलाई स्वस्थ बनाइराख्न पनि सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा आइटीएफका केन्द्रिय अध्यक्ष प्रविण कार्कीले मुलुकमा रहेका तीन तहका सरकार मध्ये स्थानीय सरकारको योगदान खेलकुद बिकासका लागि महत्वपूर्ण रहेको बताए । कार्यक्रममा आइटिएफका केन्द्रिय उपाध्यक्ष बिष्णुभक्त चौधरी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, वरिष्ठ उपाध्यक्ष राजु खडका , संघका कार्यसमिति सदस्य एवं दमक जेसीजका पूर्व अध्यक्ष सञ्जिब बराल लगायतको आतिथ्य रहेको थियो । आइटीएफ झापाका सचिव पारसमणी आचार्यले कार्यक्रमको सञ्चालन गरेका थिए । उनका अनुसार प्रतियोगिता शनिबारसम्म चल्नेछ । प्रतियोगिताका पदक विजेता खेलाडीहरुलाई शनिबार पुरस्कार तथा प्रमाण पत्र वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published.