संघीय मन्त्री यादवद्वारा पथरी शनिश्चरेमा खानेपानी आयोजनाको शिलान्यास

पथरी,२४ फागुन ।मोरङ्गको पथरी शनिश्चरे वडा नं २ मा रहेको पथरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बोक्रेचोकस्थित जलवायु अनुकूलित
वृहत खानेपानी आयोजनाको शिलान्यास गरिएको छ।आज शनिबार संघीय खानेपानी तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले समारोहका बीच शिलान्यास गरे ।
शिलान्यास गार्दे संघीय मन्त्री यादवले पथरीशनिश्चरे नगरपालिकाको खानेपानी समस्या समाधानका लागि पहिलो चरणमा नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन मन्त्रालयबाट ३५ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको बताए। नागरिकलाई घर घरमा स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गराउने सरकारको दायित्व भएको भन्दै उनले सोको लागि आफूले सक्दो प्राथमिकता दिएर बजेट विनियोजन गरिदिएको स्पष्ट पारे।
यसैगरी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले यस पथरी शनिश्चरे नगरपालिका क्षेत्रका स्वच्छ खानेपानी उपलब्ध गराउन संघीय मन्त्रालय र विभागले उच्च प्राथमिकता दिएको बताए।
सोही अवसरमा पथरिशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले यस आयोजनाले नगरपालिकाका ७ वटा वडाहरुका नागरिकहरूले स्वच्छ खानेपानी उपभोग गर्न पाउने उल्लेख गरे।
पथरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष जयराम बिष्टको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, संघीय खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, संघीय खानेपानी तथा ढल व्यवस्थापन कोशी प्रदेश आयोजना प्रमुख सुखलाल चौधरी, वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ्ग राई, वडा नम्बर ३ का वडाध्यक्ष विजय लिम्बू , अन्य वडाका जनप्रतिनिधिहरू तथा राजनीतिक दलका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो। यस खानेपानी आयोजनाले निर्माण सम्पन्न भएपछि नगरभित्रका वडा नम्बर १, २, ३ ,५ ,६,७ र १० का नागरिकहरूलाई शुद्ध खानेपानी पानी उपलब्ध हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published.