२६ फागुनमा पथरीमा चिचिरी– गेन्द्रो दिवस मनाईदै

पथरी ,२४ फागुन । धिमाल जातिय विकास केन्द्रले बर्षेनी आयोजना गदैं आएको चिचिरी ,गेन्द्रो दिवस यसवर्ष मोरङको पथरीमा भव्य रुपले मनाइने तयारी तीव्र पारिएको जनाएको छ । धिमाल जातिको मौलिक खाना, संस्कृतिको प्रवर्धनका लागि बर्षेनी मनाउदै आएको यस दिवस यसवर्ष भने यहि फागुन २६ गतेका दिन पथरी शनिश्चरेको शान्ति – भुल्के सिमसार तथा पर्यटकीय स्थलमा मनाईने भएको हो । सो दिवस यसअघि दमकमा पहिलो, उर्लाबारीमा दोस्रो र बेलबारीमा तेस्रो संस्करण सम्पन्न भएको थियो ।
आयोजक समितिले आज पथरीमा पत्रकार सम्मेलनमार्फत यस पटक ‘सँस्कृति, मौलिकता र स्वस्थ खाना’ भन्ने नाराका साथ भव्य रुपले आयोजना गरिएको धिमाल जातिय विकास केन्द्रका केन्द्रीय सहअध्यक्ष तथा कार्यक्रम संयोजक केदार धिमालले जानकारी दिए । उनका अनुसार सो दिवसमा धिमाल जातिको मौलिक खानाहरु चिचिरी, गेन्द्रो, तोले, चुदुर, पायाको बिहा, गोरा, हाया लगायतका परिकारहरुका स्टलहरु मात्रै राखिने छ । यी परिकारका स्टलहरु बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म उपलब्ध हुने छ ।
मोरङ क्षेत्र नं ३ का संघीय सांसद डा. सुनिल शर्माको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक तथा साँस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
साँस्कृतिक कार्यक्रममा गायिका रचना रिमाल, गायकहरु डिकबहादुर धिमाल, सन्जिव धिमाल, सुरेश धिमाल, राजेश धिमाल, हास्य कलाकार बिक्रम धिमाल लगायतको प्रस्तुति रहनेछ । करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको आयोजकले सो अवसरमा दुई हजार भन्दा बढि दर्शकहरू आउने अनुमान गरेको छ ।
पत्रकार सम्मेलनमा धिमाल जातिय विकास केन्द्र केन्द्रीय समितिका अध्यक्ष अम्बर बहादुर धिमाल, सचिव अजित कुमार धिमाल, महिला सचिव रोमान्सी धिमाल, सचिवालय सदस्य मोहन कुमार धिमालको उपस्थिति रहेको थियो।

 

Leave a Reply

Your email address will not be published.