
बिर्तामोड,२१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन्।
प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिए ।
अध्यक्ष ओलीले भने , “कोसीले पुरानो सभ्यता र परम्परा बोकेको छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातजातिपछि आएका हुन् । जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी गर्दा हुन्छ ।” उनले जातिय पहिचानबाट प्रदेश नामाकरण गर्न नहुने समेत औल्याए ।
उनले अर्को प्रसङ्गमा नेपाली कांग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टिप्पणी गरे । वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको उल्लेखगर्दै अध्यक्ष ओलीले लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको कांग्रेसले दक्षिणपन्थीको वैशाखी टेक्नु दुःखद् भएको आरोप लगाए ।
प्रेस चौतारीको अधिवेशनलाई उद्घाटन गर्नुअघि पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अर्जुनधारा नगरपालिकास्थित सालबाडीमा रहेका पाँच शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईंकेल, नारायण श्रेष्ठको सालिकमा माल्यर्पणसमेत गरेका थिए ।
एमाले झापाका प्रचार विभाग प्रमुख गोपाल काफ्लेका अनुसार विहान ९.३० बजे अर्जुनधारा नगरपालिका स्थित सहिद सुखानी सहिद स्मारकमा गएर माल्यापर्ण गर्ने पहिलो कार्यक्रम छ ।
११.३० मा कमल गाउँपालिका वडा नं ६ खयरबारीमा रतुवा–मावा तटबन्धको शिलान्यास गर्ने कार्यक्रम छ । यसैगरी दिउसो दिनको १२.३० बजे बिर्तामोडको सिपी पार्टी प्यालेसमा आयोजना गरिएको प्रेस चौतारी नेपाल प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस लगत्तै १.३० बजे बिर्तामोडको सिटी सेन्टरमा रहेको साई पार्टी प्यालेसमा आयोजित नेपाल खेलकुद महासंघ प्रदेश १ को प्रथम अधिवेशनमा सम्बोधन गर्ने कार्यतालिका छ ।
यस्तै, अन्तिम कार्यक्रम झापा गोल्डपकको उद्घाटन रहेको छ । अध्यक्ष ओली पाँचौं झापा गोल्डकप उद्घाटनपछिको पहिलो खेल दर्शकसँगै बसेर हेर्ने र आजै साँझ काठमाडों फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
–––