झापा,२१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका सभापति उमेश खरेलले पदबाट राजीनामा दिएका छन् । सभापति खरेलविरुद्ध कार्यकर्ताले नै नैतिक चरित्र र आर्थिक अनियमिततासम्बन्धी उजुरी दिएका थिए भने त्यस उजुरीलाई जिल्ला समितिले केन्द्रीय समितिमा पठाएको थियो । केन्द्रीय समितिमा राजीनामा दिएको कुरा जिल्ला सभापति खरेलले पुष्टि गरेका छन् । ‘मैले केन्द्रीय समितिमा राजीनामा पठाएको छु ’ उनले भने,‘ तर केन्द्रीय समितिले स्वीकृत गरिसकेको छैन । ’ एकपक्षीय रुपमा आफूमाथि लागेको आरोपका बारेमा रास्वपाको अनुशासन आयोगले छानबिन गरिरहेको उनले जानकारी दिए । उनले त्यसबारेमा धेरै बोल्न चाहेनन् । रास्वपाको जिल्ला समितिले खरेललाई कारबाहीका लागि पार्टीको केन्द्रीय समितिमा सिफारिस गरेसंगै उनले पदबाट राजीनामा दिएको बताइएको छ ।
केही साताअघि रास्वपा झापाका सभापति खरेलबिरुद्ध पार्टीकै कार्यकर्ताले चरित्रमाथि प्रश्न उठाउँदै पार्टीमा उजुरी दिएका थिए । कारबाही नगरे आफ्ना कुरा मिडियामार्फत सार्वजनिक गर्ने भनेर उजुरीकर्ताले भनेपछि जिल्ला समितिले आफ्नै सभापति खरेललाई कारबाहीको लागि केन्द्रमा सिफारिस पठाएको थियो ।
रास्वपाका एक केन्द्रीय नेताका अनुसार खरेलमाथि आर्थिक अपचलन र नैतिक चरित्रमा प्रश्न उठाउँदै जिल्ला समितिले तत्काल निलम्बन गरी थप कारबाही अघि बढाउन पत्रमा लेखिएको छ। ‘उहाँको आर्थिक र नैतिक (चारित्रिक)सँग पनि जोडिएको विषय छ,’ ती नेताले भने।
आइतबार पत्र आएपछि रास्वपाको अनुशासन आयोगले यससम्बन्धी छानबिन गरिरहेको छ। पत्र प्राप्त भएपछि कार्यवाहक सभापति डीपी अर्यालले अनुशासन आयोगमा पठाएका थिए।
खरेल रास्वपा झापाका संस्थापक जिल्ला सभापति हुन्। उनी २०७९ असारमा पार्टी स्थापनासँगै सभापति चयन भएका थिए ।