झापा गोल्डकप आजदेखि शुरु : सातदोबाटो र जावलाखेल भिड्दै

झापा ,२१ फागुन । झापा गोल्डकपको पाँचौ संस्करणको खेल आजदेखि शुरु हुदै छ । आजको उद्धघाटन खेलमा सातदोबाटो र जावलाखेल आमनेसामने हुँदैछन् ।बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्धघाटन खेलमा ए डिभिजन क्लबहरु भिड्न लागेका हुन् ।

‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्डकप हाम्रो शान’ भन्ने मूल नारासहित प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।

गोल्डकपलाई विगतभन्दा उत्कृष्ट, भव्य र परिस्कृत बनाउनका लागि तयारी समेत पूरा भएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

गोल्डकपका लागि झण्डै दुई महिना लगाएर उत्कृष्ट मैदान बनाइसकिएको छ । करिब १० हजार दर्शक बस्न मिल्नेगरी बाँसको प्यारापिट निर्माण गरिएको छ भने दर्शकको चाप हुनसक्ने अनुमानका साथ पारापिटको अघिल्लोतिर दर्शकका लागि प्लास्टिकको कुर्सी र भुइँमा बसेर हेर्न सहज होस् भनेर कार्पेट ओच्छ्याइएको महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।

प्रतियागिताको तयारीस्वरुप झापा जिल्लाभरि स्वागत गेटहरु निर्माण गरिएको छ । बिर्तामोड आसपासमा एक दर्जन स्वागतद्वार बनाइएको छ ।

पाँचौ संस्करणको झापा गोल्डकपमा घरेलु टोली झापा–११सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, थ्री स्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी हुने आयोजकले जनाएको छ।

गोल्डकपमा दुई भारतीय टिम एम एफसी दार्जीलिङ र आरपी एफसी सिक्किम सहभागी हुनेछन् ।गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपबिजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउँनेछन् ।

त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइनेछ ।

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९ सय ९९ रुपैयाँ पाउनेछन् । अघिल्लो संस्करण जस्तै पाँचौ संस्करणको उद्घाटन समारोहमा पनि झापा जिल्लाका दुईजना पुराना फुटबल खेलाडीलाई नगद १५ हजारसहित सम्मान गरिनेछ ।

यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ । यो रकम गोल्डकप उद्घाटनको दिन प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको समापन पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गर्नेछन् ।

Leave a Reply

Your email address will not be published.