कमल नगर अस्पतालबाट मानसिक रोगका विरामीहरु लाभान्दित

कमल ,२१ फागुन । झापाको कमल गाउँपालिका २ तोपगाछीस्थित कमल नगर अस्पतालले मानसिक रोगको विशेषज्ञ उपचारसहित परामर्श सेवा शुरु गरेपछि स्थानीयहरु लाभान्दित भएका छन् ।
दुई बर्ष अघिदेखि स्वास्थ्य बीमा कार्यक्रमसहित सेवा शुरु गरेको कमल नगर अस्पतालले सेवा विस्तारका क्रममा करिब ६ महिना अघि मात्रै मानसिक रोग सम्बन्धी विशेषज्ञ सेवा ल्याएपछि त्यस क्षेत्रका मानसिक समस्या झेलिआएकाहरु प्रत्यक्ष रुपमा लाभान्दित भएका छन् ।
अस्पतालमा विराट मेडिकल कलेज टिचिङ अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. नवराज कोइरालासहितको चिकित्सक टोलीले सेवा दिदैआएका छन् । अस्पतालमा हरेक महिनाको तेस्रो बुधबार मानसिक रोग विशेषज्ञ डाक्टरको सेवा शुरु गरिएकोमा यस सम्बन्धी विरामीहरुले उपचार गर्न गराउन आउने सर्वसाधारणहरुको संख्या बढ्दो छ ।
यसैक्रममा आज बुधबार एकैदिन २९ जनाले उपचार सेवा लिएका अस्पतालका प्रमुख दिपकप्रसाद दाहालले जानकारी दिए । गत असोजदेखि शुरु भएको यो सेवा अघिल्लो महिना २७ जनाले लिएका थिए । स्थानीय बासिन्दा तथा छिमेकी पालिकाका बिरामीहरूले समेत यो अस्पतालबाट सहजै सेवा लिने गरेको प्रमुख दाहालको भनाई छ ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष समेत रहेका कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई गाउँघरमै सञ्चालित सरकारी अस्पतालबाट विशेषज्ञ सेवा लिन पाउनु सर्वसाधारणका लागि खुशीको बिषय भएको बताउँछन् । अध्यक्ष राईको बिरामीको संख्या धेरै हुनु आफैंमा खुशीको कुरा त होइन तर बिरामी भइसकेपछि उपचार सेवा सहज रुपमा गाउँ घरकै अस्पतालमा पाउनु अवश्य पनि खुशीको बिषय भएको बताउँछन् ।
गाउँघरमै खोलिएका अस्पतालमा मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा शुरु भएपछि यहाँका बिरामीहरूले टाढा जानु पर्ने समस्या भने विस्तारै हल हुदै गएको वडाध्यक्ष समेत रहेका अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति सदस्य अशोक सुब्बा बताउँछन् ।
उनका अनुसार मासिक रूपमा प्रदान गरिने यो सेवाको प्रचार–प्रसारसँगै यसप्रति विश्वास गरेर आउने र चेतना जगाउने काम भएकाले बिरामीहरूको चाप बढ्दै गएको छ ।
चिकित्सकहरुका अनुसार मानसिक स्वास्थ्य उपचार सेवा लिन आएका अधिकांश बिरामीहरूले मानसिक तनाव, चिन्ता, डिप्रेशन, अनिद्रा जस्ता समस्याहरू भएको बताएका थिए । उनीहरुले विशेषज्ञ डाक्टरसँग उपयुक्त परामर्श सेवासँगै आवश्यक औषधि उपचार समेत पाउदै आएका छन् ।
यसैवीच ,गाउँपालिकाले यस अस्पतालमा हरेक किसिमका विशेषज्ञ स्वास्थ्य सेवा उपलव्ध गराउने योजना रहेको अध्यक्ष राई बताउँछन् । आगामी दिनमा मानसिक स्वास्थ्यका साथै अन्य विशेष सेवाहरू पनि थप गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष राई बताउँछन् ।

Leave a Reply

Your email address will not be published.