दमक,१९ फागुन । दमकमा सञ्चालित नवौं फुड फेस्टिवल–२०७९ आज शुक्रबार सकिएको छ । होटल व्यवसायी संघ दमकको आयोजनामा ११ फागुनदेखि शुरु भएको फेस्टिबलको औपचारिक कार्यक्रमकाबीच समापन गरिएको हो ।
होटल व्यवसायी महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजन दंगालको प्रमुख आतिथ्यतामा भएको फेस्टिबल समापनका अवसरमा फेस्टिवल सञ्चालनमा सहयोग पुरयाउने व्यवसायिक कम्पनी फर्म, स्टलका सञ्चालक तथा योगदान दिने व्यक्ति तथा संघ संस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
सो अवसरमा होटल व्यवसायीहरुको हितमा योगदान दिएको भन्दै पत्रकार पकंज दाहाललाई नगद पुरस्कारबाट पुरस्कृत समेत गरिएको थियो । संघका अध्यक्ष तथा समापन कार्यक्रमका सभापति योगराज दंगाल , प्रमुख अतिथि दंगाल , होटल व्यवसायी संघका सल्लाहकार ज्ञानबहादुर कार्कीले पत्रकार दाहाललाई नगद ५ हजार पुरस्कार र मायाको चिनो प्रदान गरेका थिए ।
फेस्टिबल अवधिभर मनोरञ्जनात्मक सांगितिक कार्यक्रम प्रस्तुत गरिनुका साथै खाद्यन्नका विभिन्न परिकारहरुका स्टल राखिएको थियो । फेस्टिवलको आज शुक्रबार अन्तिम दिन चर्चित ¥यापर जी बब ( सुदिप भण्डारी) को प्रस्तुतिले दर्शकहरुलाई तानेको थियो । करिव एक घण्टा उनको प्रस्तुतिका क्रममा फेस्टिवल परिषर भिडभाड हुन पुगेको थियो । भिड नियन्त्रण गर्न सुरक्षाकर्मी तथा आयोजकका स्वमसेवकहरुलाई निकै हम्मे परेको थियो ।
फेस्टिवल व्यवस्थापन समितिका संयोजक समेत रहेका महासंघका केन्द्रीय सदस्य भुपेन्द्र न्यौपानेका अनुसार फेस्टिवल अवधिभरि करिव ५० हजार बढी दर्शकले अवलोकन गरेका थिए ।