झापा, १९ फागुन । पत्रकार महिलाको छाता सङ्गठन नारी सञ्चारगृह झापाले पत्रकारिता क्षेत्रसँगै समाजमा पु¥याएको योगदानको कदर गर्दै सुसेली साहित्यिक मञ्चले सम्मान गरेको छ ।काँकरभिट्टामा आयोजित कार्यक्रममा स्व वेदकुमार रेग्मी कर्मठ पुरस्कारबाट नारी सञ्चारगृहलाई नगद रु १८ हजारसहित सम्मान गरिएको हो । रेग्मी वरिष्ठ झर्रोवादी साहित्यकार चूडामणि रेग्मीकी धर्मपत्नी हुन् ।
उनी झापाको पहिलो महिला सम्पादक र प्रकाशक हुन् । सुसेलीले उनका नामबाट समाजमा विभिन्न क्षेत्रमा काम गरेका व्यक्ति तथा संस्थालाई विगत आठ वर्षदेखि पुरस्कार वितरण गर्दै आएको छ ।
मेचीनगर–१२ की उद्यमी निर्मला चौहान भण्डारीलाई रु १५ हजार नगद राशीको डा .मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि मकालु टेलिभिजनकी सञ्चालक गङ्गा सुवेदीले दुवै पुरस्कार प्रदान गरिन् ।
सो अवसरमा पूर्वन्यायाधीश शारदा कोइरालाको ‘ठीक, बेठीक’ नामक कथासङ्ग्रह र सुसेली साहित्यिक परिवारको २१औँ विशेषाङ्क (वेदकुमारी श्रद्धाञ्जली अङ्क)को लोकार्पण गरिएको थियो ।
संस्थाका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा विमोचित कथा कृतिकाबारेमा गङ्गा अधिकारी र सुसेली विशेषाङ्कका बारेमा दामोदर ढुङ्गेलले समिक्ष गरेका थिए ।