
दमक,१७ फागुन । आफना पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गराउन साथ दिएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) नेपालका केन्द्रीय नेतासहित प्रदेश- १ का छ दर्जन बढी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
दमकमा मंगलवार पार्टीका असन्तुष्टहरुले पत्रकार सम्मेलन गरि सामूहिक रुपमा पार्टी त्यागेका घोषणा गरेका हुन् । उनीहरुले पार्टी भित्र कुनै छलफल नै नगरि अन्धाधुन्द ढंगवाट आफना पार्टीका सांसदले एमसीसीका पक्षमा मतदान गरि अनुमोदन गराउन सहयोग पुरयाँएको भन्दै सामूहिक पार्टी त्यागेको विज्ञप्तिमा उल्लेख छ ।
यसरी पार्टी त्याग गर्नेमा पार्टीका केन्द्रीय नेता प्रेमदिप थाम्सुहाङ,लोसपा प्रदेश १ का अध्यक्ष फक्तालुङ योङहाङ,वरिष्ठ उपाध्यक्ष शरणहाङ जवेगु,सचिव दिपेश पालुङवा,लोसपा लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष रन्जन सुब्बा,उपाध्यक्ष गजेन्द्र लावती,किरात खम्बुवान राष्ट्रिय समितिका संयोजक हर्कराज राई, लगायतका नेता तथा कार्यकर्ताहरु रहेका छन् ।
५१ जनाको सामूहिक हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ,–‘एमसीसी परियोजना देशका लागि राष्ट्रघात भएको र त्यसमा पार्टी उभिएकाले स्वाभिमानी कार्यकर्ताहरुले आजका मितिदेखिनै साधारण सदस्य समेत नरहने गरि पार्टी त्याग गरेका घोषणा गर्दछौ ।’
यसैवीच, पार्टी त्यागेकाहरुले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । नेता थाम्सुहाङको नेतृत्वमा उनीहरुले राष्ट्रिय एकता पार्टी नेपाल घोषणा गर्ने तयारी गरेको बुझिएको छ । स्रोतका अनुसार यहि फागुन २१ गतेनै दमकमा एक कार्यक्रम गरि नयाँ पार्टीको औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम रहेको छ ।