पथरीशनिश्चरे ,१७ फागुन । मोरङको पथरी शनिश्चरे -७ मा रहेको मायादेवी पार्कको प्रवेशद्वार अनावरण भएको छ । शुक्रबार एक कार्यक्रमका बीच कोशी प्रदेशका सांसद मानबहादुर लिम्बूले नवनिर्मित प्रवेशद्धारको बौद्ध परम्परा अनुसार अनावरण गरे ।
मायादेवी पार्क सञ्चालक समितिको सम्पन्न दोस्रो वार्षिक साधारण सभा का अवसर पारेर प्रवेशद्धारको अनावरण गर्नुका साथैं ‘कृष्णकुमारी राईको जीवन यात्रा ’ पुस्तक समेत लोकार्पण गरिएको थियो ।
सांसद लिम्बूले यस स्थललाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न सबै मिलेर लाग्नुपर्ने औल्याए ।
बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धकी ममतामयी माता मायादेवीको नामबाट स्थापित यो धार्मिक तथा पर्यटकीय स्थललाई थप पूर्वाधार विकास गर्न सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जाहेर गरे ।
पार्क सञ्चालक समितिकी अध्यक्ष कृष्णकुमारी बिकको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममाकोशी प्रदेशकी सांसद तथा नेकपा माओवादीकी प्रमुख सचेतक गीता तिम्सिना, प्रदेश सांसद् विद्या राई,संविधानसभाका सभासद द्वय चण्डीप्रसाद राई र लालबहादुर सुश्लिङ मगर , पथरीशनिश्चरे ८ का वडा अध्यक्ष तथा नगरप्रवक्ता नवीनजंग कार्की लगायतले आआफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।सोही अवसरमा पार्क निर्माणका लागि मनमाया तामाङको स्मृतिमा पाँच कठ्ठा, स्वर्गीय गंगाबहादुर तामाङको स्मृतिमा दुई कठ्ठा, दिलप्रसाद लिम्बूको स्मृतिमा १ कठ्ठा, छविलाल मादेनको स्मृतिमा १० धुर र विष्णुमाया राई १० धुर गरी कुल ९ कठ्ठा जग्गा निःशुल्क दान गर्ने परिवारका सदस्यहरूलाई कदरपत्रद्वारा सम्मानित गरिएको थियो।
कार्यक्रममा पार्क सञ्चालक समितिका सचिव जोन सुब्बाले अध्यक्ष कृष्णकुमारी बिकको तर्फबाट वि. सं.२०७९ असोज ७ देखि हालसम्मका कार्य प्रगति तथा भावी कार्ययोजनाहरू समेत प्रस्तुत गरेका थिए ।
पार्क सञ्चालक समितिको नयाँ नेतृत्व
त्यस्तै, संस्थाको साधारणसभाले कृष्णकुमारी गुरुङको अध्यक्षतामा ९ सदस्यीय मायादेवी पार्क सञ्चालक समितिको नयाँ नेतृत्व पनि चयन गरेको छ ।सर्वसम्मत गठित समितिको उपाध्यक्षद्धयमा ओमप्रकाश राई र चन्द्र थापा, कोषाध्यक्षमा संमिता तामाङ, सचिवमा जोन सुब्बा,सह सचिवमा सन्त सुब्बा रहेका छन् ।