दमक,१८ फागुन । झापाको दमकमा शुक्रवारदेखि तेश्रो याक्थुङ साम्लो महोत्सव २०८० शुरु भएको छ ।लिम्बू कलाकर्मीहरुको संगठन फक्तालुङ सांस्कृतिक मञ्चले दमकको पशुहाट मैदानमा आयोजना गरेको दुई दिने साम्लो महोत्सवको किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले उद्घाटन गरे ।
लिम्वू समुदाय भित्रको लोपन्मुख, गीत संगीतलाई उजागर गर्न याक्थुङ साम्लो महोत्सवको आयोजना गरिएको मञ्चका अध्यक्ष पूर्ण कुमार शेर्मा (यादेन ) ले बताए । महोत्सवमा लिम्वू समुदायको मौलिक संस्कृति तथा मुन्धुमी लोक साम्लो गीत, पालम,ख्याली,हाक्पारे,केलाङहरुको प्रस्तुति रहने उनले जानकारी दिए ।
महोत्सवको पहिलो साँझ पालाम, हाक्पारे, ख्याली र धान नाँचको साथमा ख्यातिप्राप्त कलाकारहरु दिपक लिम्बू, मनु नेम्बाङ, ताराप्रकाश लिम्बू, शाहिल लिम्बू, गोविन्द लिम्बू, नोगेन लिम्बू, रुक्शाना लिम्बू, एकान्त लिम्बू र अन्य कलाकारले सांगीतिक प्रस्तुति दिने छन् भने शनिवार ‘याक्थुङ साम्लोमा माङसिवाखाहुन ’ र ‘लोपोन्मुख याक्थुङ साम्लोमा ताम्के’ विषयक दुईवटा कार्यपत्र प्रस्तुत हुने तथा त्यसमाथि अन्तरकृया समेत गरिने कार्यक्रम रहेको अध्यक्ष शेर्माले बताए ।
मञ्चले यसअघि हाक्पारे पालाम महोत्सव भनेर पहिलो पटक पाँचथरको फिदिम र दोस्रो तेह्रथुमको म्याङलुङमा आयोजना गरेको थियो । साम्लो महोत्सवका अवसरमा मञ्चले दिउँसो दमकमा सांस्कृतिक रयाली निकालेको थियो । कार्यक्रमस्थलबाट शुरु भएको रयाली चौंक ,वजार परिक्रमा गरिएको थियो ।