मेची बहुउद्देश्यीय सहकारीको सदस्य शिक्षा कार्यक्रम सम्पन्न

दमक,१७ फागुन । झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले विगतको वर्ष झै यस वर्ष पनि सदस्यहरुलाई संस्थाको विविध कारोबारका बारेमा तथा वित्तीय जानकारी दिने उद्देश्यले सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो ।
पुस १ गतेदेखि ६ गतेसम्म यस वर्ष मात्र सदस्य बनेका सदस्यहरुका लागि र फागुन ९ गतेदेखि १४ गतेसम्म यस चालु आव भन्दा अगाडि बनेका सदस्यहरुलाई सदस्य शिक्षा कार्यक्रमको आयोजना गरिएको थियो । सदस्यहरुलाई प्रत्येक दिन दुई समूहमा विभाजन गरी उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
सबै दिन सञ्चालित कार्यक्रमको अध्यक्षता शिक्षा तथा तालिम व्यवस्थापन उपसमिति संयोजक लक्ष्मीप्रसाद दाहालले गरेका थिए । कार्यक्रमको सञ्चालन सोही उपसमितिका सदस्यहरुले आलोपालो गरेका थिए ।
कार्यक्रममा संस्थाका सचिव राजेन्द्रप्रसाद दाहालले हाल विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीको बिषयमा चर्चा गर्दै सहकारी संस्थाहरुमा समेत त्यसको प्रभाव परेको र सहकारीलाई संस्थागत ढंगबाट सञ्चालन नगरी व्यक्तिगत तवरले चलाउने सहकारी संस्थाहरुमा त्यसको प्रभाव अत्याधिक परेको र त्यसैको परिणाम स्वरुप केही सहकारीमा समस्या उत्पन्न भएको बताएका थिए । तथापी बैंक तथा अन्य वित्तीय संस्थाहरुको तुलनामा उक्त समस्या न्यून रहेको समेत बताए । उनले भने– “ऐनको मर्म बिपरीत १ लाख भन्दा माथि बिना धितो कर्जा लगानी गरेका र कर्जाको सन्दर्भ ब्याजदर भन्दा उच्च ब्याजदरमा निक्षेप संकलन गर्ने सहकारीलाई थप समस्या आउन सक्ने देखिन्छ ।”
६ दिन सञ्चालित कार्यक्रममा दमक र कमल सेवा कार्यालय अन्तर्गतका ७२३२ सदस्य मध्ये ५५८२ जना सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अर्धवार्षिक पछि संस्थाको वित्तीय कारोबारको अवस्थाका बारेमा चर्चा गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले बचत, कर्जा, शेयर पूँजी, बाह्य कर्जा तथा समग्र वासलातको अवस्थाबारे सदस्यहरुलाई जानकारी गराए । संस्थाको यस आ.व. को माघ मसान्तसम्ममा बचत १०.१४ प्रतिशत, कर्जा लगानी १.०३ प्रतिशत, शेयर पूँजी ३.३४ प्रतिशत, सदस्य संख्याः ८.८६ प्रतिशत र वासलात १.४७ प्रतिशतले बृद्धि भएको छ ।
कूल बचत निक्षेप २ अर्ब ३९ करोडमध्ये दीर्घकालीन प्रकृतिको बचतमा १ अर्ब ४१ करोड भन्दा माथि (५८.७३ प्रतिशत) रकम रहेकाले संस्थालाई सहज रुपमा सञ्चालन गर्न सहयोग पुगेको तथा बिना धितो कर्जा लगानी नरहेको, भाखा नाघेको कर्जा रकम ०.२७ प्रतिशत मात्र रहेको र तरलता रकम पर्याप्त रहेको बगालेले जानकारी दिए ।
संस्थाको गौरवशाली आयोजनाको रुपमा रहेको “मेची आवास” कार्यक्रम अन्तर्गत ५७ वटा घर निर्माण सम्पन्न भइसकेको र घर बुक गर्ने सदस्यहरुले पनि रकम जम्मा गरिसकेकाले हाल धमाधम सदस्यहरुले आफ्नो नाममा घर पास गरिरहेका हुँदा चैत्र १५ भित्रमा सबै सदस्यहरुलाई घर पास गरिसकेर सदस्यहरुलाई एक कार्यक्रमका बीच घर हस्तान्तरण गरिने संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए ।
त्यस्तै संस्थाका शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिका संयोजक लक्ष्मीप्रसाद दाहालले सहकारी क्षेत्रको नाम जोडेर निजी क्षेत्रका बैंकहरुले समग्र सहकारी क्षेत्रकै बद्नाम गर्न खोजेको आरोप लगाए । उनले भने– “बैंकहरु पनि आर्थिक संकटको चपेटामा छन्, उनीहरु बीचमा देखिएको आर्थिक संकटलाई बाहिर चर्चा नगरी एकअर्कामा गाभिएर (मर्ज गरेर) कारोबारलाई पुनः अर्को नयाँ नामबाट भए पनि बैंकहरु सञ्चालन भइरहेका छन् तर एक दुई सहकारीमा समस्या आउँदा भने समग्र सहकारी क्षेत्रलाई नै बद्नाम गर्न तिनै बैंकहरु लाग्ने गरेका छन् ।”
सोही कार्यक्रमको अवसरमा उत्कृष्ट अंक ल्याई +२ उत्तीर्ण गर्ने सदस्यका छोराछोरीहरु मध्ये रोशन पोख्रेललाई रु १० हजार तथा प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । त्यस्तै मुटुको अपरेशन गरे बापत संस्थाको तर्फबाट दमक–९ निवासी सदस्य यज्ञनिधि चम्लागाईलाई ५० हजार र दमक–६ नमुना मार्गका आगलागी पीडित सदस्यहरु संगीता श्रेष्ठ र सविता श्रेष्ठलाई जनही रु ५० हजार सहयोग रकम प्रदान गरिएको संस्थाका सहव्यवस्थापक चन्द्र थापाले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published.