दमकमा भ्यूटावर निर्माण अन्तिम चरणमा, प्रयोजनमा अझै अन्यौल

दमक,१७ फागुन । झापाको दमक- ३ स्थित दापगाछीमा व्यवसायिक प्रयोजनका लागि बन्दै गरेको १८ तले दमक भ्यू टावरको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।भ्यूटावर निर्माण कम्पन्नी आशिष ओम साइराम जेभीका सब–इन्जिनियर सुभशंखर बिराजीका अनुसार विस्तृत परियोजना प्रस्ताव (डीपीआर) अनुसार निर्माणाधीन यस भ्यू टावरमा अहिले १८ तलाको कंक्रिट ढलान र त्यसमाथिको २८ मिटर अग्लो स्टील टावर निर्माणको काम पूरा भई अहिले रंगरोगनको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म १८ तलाको भवन निर्माणसँगै परिसरको टिकट काउण्टर, कोसेली घर, चिल्ड्रेन पार्क, सार्वजनिक शौचालय र खुला ठाउँ थिएटरको निर्माण भइसकेको छ । टावरको हरेक तला चार मिटर उचाईमा रहेको छ ।

हालसम्म १८ तलाको क्रङ्क्रिट ढलान कार्य सकिएर त्यहाँभन्दा माथिको २८ मिटर अग्लो स्टिल टावर निर्माण भइरहेको छ । भ्यू टावरको पूरै भवनको संरचना एक सय मिटर अग्लो छ ।

यस भ्यू टावरको भूइँतलामा ४० वटा चारचक्के र दुई सय वटा दुईचक्के यातायातका साधन अट्ने क्षमताको पार्किङस्थल रहनेछ । चारवटा तलामा व्यापारिक प्रयोजनका पसलहरु, पाँचौँ तलामा सेमिनार हल, छैटौँदेखि नवौँ तलासम्म बैंक, वित्तीय संस्थालगायत व्यापारिक केन्द्र, दशौँदेखि चौधौैँ तलासम्म कृषि तथा औद्योगिक सामानको प्रदर्शनी हल, पन्ध्रौँ र सोह्रौँ तलामा रेस्टुरेन्ट र लज बन्नेछन् भने सत्रौँ र अठारौँ तलामा दृश्यावलोकन उपकरणसहितको कक्ष रहने सब–इन्जिनियर बिराजीले बताए ।

राष्ट्रिय गौरवको परियोजनाका रूपमा दमक भ्यू टावरको निर्माण दमक बजारभन्दा ६ किलोमिटर टाढा ढुकुरपानी गाउँमा विस २०७६ साल असार २७ गते सुरु भएको थियो । निर्माण कम्पनीले चालु फागुन महिनाभित्र निर्माणको काम पूरा गरी सरकारलाई हस्तान्तरण गर्ने बताएको छ । भ्यू टावरको निर्माणमा रु १ अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सुरुको सम्झौता भए पनि पछि नौ प्रतिशत लगानी बढेर कूल लागत भ्याटबाहेक रु एक अर्ब ५० करोड ६३ लाख ८५ हजार नौ सय ६४ खर्च भएको बताइएको छ ।

दमक- ३ का वडाअध्यक्ष नविन बरालले दमकका लागि यतिका ठुलो परियोजनालाई उपलव्धिमूलक बनाउन लाग्नुपर्ने बताउँछन् । यसले दमकको समग्र विकासमा टेवा पुग्ने उनको भनाई छ । उनका अनुसार भ्यूटावर निर्माणका लागि स्थानीय केवलीप्रसाद खरेल, टंकप्रसाद सिटौला, कृष्णराज खतिवडा, रुद्रप्रसाद दाहाल र दीपक प्रसाईसहितले विस २०७३ मा चार बिगाहा १८ कठ्ठा साढे सात धुर जग्गा प्राप्त भएको थियो । पाँचजनाले भ्यू टावरलाई दिएको जग्गा उनीहरूको पुख्यौली वा पुरानो जग्गा नभई निर्माण सुरु गर्नुभन्दा एक वर्षअघि स्थानीयबाट जग्गा सस्तोमा किनेर उनीहरूले भ्यू टावरलाई दान गरेका हुन् ।

भ्यूटावर परियोजना सकिन लागेपछि यसलाई कसरी प्रयोगमा ल्याउने भन्ने विषयले सवैलाई कौतुहलता बढाएको पाईएको छ । यसको प्रयोजनको विषयमा दमक नगरपालिकाले भने अहिले नै योजना तयार गरि नसकेको बताएको छ । नगर प्रमुख रामकुमार थापाले जुन प्रयोजनकालागि बनाइएको हो, नगरले कार्यविधि बनाएर अघि बढ्ने कुरामा दुईमत नभएको उल्लेख गरे । तर संघीय सरकारको स्वामित्वमा रहेको राष्ट्रिय गौरवको आयोजना भएकाले स्थानीय सरकारलाई हस्तान्तरण नभएसम्म यसरी प्रयोग गरिन्छ भन्न नसकिने भन्दै उनले भने– ‘स्वामित्व हस्तान्तरण भएपछि राजनीतिक दलका प्रतिनिति, सामाजिक संघसंस्थाका प्रतिनिधि र विज्ञ ब्यक्तित्वहरुको परामर्श लिएर दमक नगरपालिकाको वोर्ड बैठकले कार्यविधि बनाउँछ, सोही कार्यविधि अनुसार प्रयोजनमा ल्याइने छ ।’

दलका आ–आफनै कुरा

दमकमा निर्माण भएको भ्यूटावर कसरी प्रयोगमा ल्याउने विषयमा स्थानीय दलका नेतृत्वहरुले आ–आफनै तर्क अघि सारिआएका छन् । नेपाली कांग्रेस झापा ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले अस्पतालको प्रयोजन हुनेगरी बनाएको भए उपर्युक्त त अस्पताल नै हुनेथियो तर बनावटको प्रकृति त्यस्तो नभएकाले स्थानीय संस्कृतिलाई संरक्षण हुनेगरी व्यापारिक प्रयोजनमा ल्याउनु राम्रो हुने बताउँछन् ।’ उनले भने – ‘पर्यटकीय व्यापारिक केन्द्र दोस्रो विकल्प हुनसक्छ ।’

नेकपा माओवादी केन्द्र दमक नगर कमिटीका अध्यक्ष रवि बस्नेतले खुला र शान्त वातावरणमा भएकाले अस्पताल उपयुक्त हुने बताउँछन् । उनले पार्टीले त संस्थागत रुपमा मेडिकल कलेजसहितको प्रादेशिक अस्पताल बनाउनुपर्छ भनेर प्रस्ताव गरेका छौं, यो प्रश्तावनासहितको ज्ञापनपत्र संघीय सरकारमा बुझाइसकेको बताए ।

नेकपा एमाले दमक नगर अध्यक्ष गेहनाथ पोखरेलले जुन उद्धेश्यकालागि बनाइएको हो सोही अनुसार प्रयोजनमा ल्याउनुपर्ने बताउँछन् । पर्यटकीय व्यापारिक केन्द्रका रुपमा बनाइएकाले सोही अनुरुप उपयोग गर्नुपर्नेमा उनले जोड दिए । उनले भने– ‘बाख्राको खोरमा घोडाको तबेला बनाउन खोज्नु हुँदैन, खोरमा बाख्रा नै र तबेलामा घोडा नै बाँध्नु राम्रो हुन्छ ।’

Leave a Reply

Your email address will not be published.