भूमि समस्या समाधान गर्न आयोग प्रतिवद्ध : अध्यक्ष निरौला

भूमि आयोगसंग कमल गाउँपालिकाले संझौता आदानप्रदान गरिदै

दमक,१६ फागुन । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भूमि सम्बन्धी सबै खाले समस्या समाधान गर्न आयोगले काम गरिरहेको बताएका छन् ।
झापाको कमल गाउँपालिकामा सोमबार पालिकासंग भूमि सम्बन्धी समस्या समाधान गर्न आयोगसंग संझौता आदानप्रदान गर्दे उनले सुकुम्बासीहरूको सुकुम्बासी ,भूमिहिन, दलित भूमिहीन र अव्यवस्थित बसोबासीहरुको भूमि समस्या समाधान गर्न आयोग प्रतिवद्ध भएको बताए ।
देशैभरि देखिएका भूमि समस्या हटाउन सरकारले जिम्मेवारी दिएको उल्लेख गर्दे अध्यक्ष निरौलाले भने , –‘ भूमि आयोग निष्पक्ष भएर सुकुम्बासी लगायतका भूमि सम्बन्धी समस्या हटाउदै भूमिमा सवैको अधिकार स्थापित गर्ने गरि काम थालेका छौं ।’
संझौता पत्र आदानप्रदानका क्रममा पालिकाकी अध्यक्ष मेनुका काफ्लेले गाउँँपालिका भित्रका सुकुम्बासी, भूहिहीन दलित, अव्यवस्थित बसोबासीलाई सहज ढंगले जतिछिटो जग्गाको धनीपूर्जा प्रमाणपत्र दिन आग्रह गरकी थिइन् ।
उक्त संझौता आदानप्रदान कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत काजीमान राई, भूमि आयोग झापाका अध्यक्ष तिलक पाण्डे लगायतको उपस्थिति रहेको थियो । आयोग टोलीले सोमबारनै गौरादह नगरपालिकासंग त्यहाँको भूमि सम्बन्धी समस्याका बारेमा अन्तरकृया भएको आयोगका जिल्ला अध्यक्ष पाण्डेले बताए ।
सार्वजनिक जग्गामा बनेका घर र टहरा हटाइने
धरान ,१६ फागुन । धरान उपमहानगरपालिकाले २०७२ यता अनधिकृतरुपमा टहरा बनाएर बसेकालाई हटाउने निर्णय गरेको छ । धरान–१७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा अनधिकृतरुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर र टहरा बनाउने कार्य नरोकिएकाले त्यसलाई हटाउने निर्णय गरिएकोे हो ।
आइतबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले जानकारी दिए । सर्वपक्षीय बैठकले २०७२ सालपछि सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्ती क्रमबद्धरुपमा हटाउने निर्णय गरेको उनको भनाइ थियो ।
उक्त कार्यको सुरुआत वडा नं १७ स्थित नयाँ अतिक्रमित क्षेत्रबाट गरिने भएको छ । धरान उपमहानगरपालिका वडा नं १७ देवीथान र कालापानीलगायत विभिन्न खोलाको किनारा, बगर र बहाव क्षेत्र अतिक्रमण गरी रातारात बस्ती बस्नेक्रम नरोकिएकाले स्थानीय राजनीतिक दलका पदाधिकारी तथा सरोकारवाला निकायका पदाधिकारीको सहभागितामा उपमहानगरले छलफल गराएको थियो । खुला क्षेत्र र सार्वजनिक जग्गाको संरक्षणमा अवरोध पुग्नाका साथै नगरको सुन्दरता नै कुरुप हुनेगरी गरिएको अतिक्रमण हटाउनु पर्नेमा सबैले बैठकमा प्रतिबद्धता जनाएका थिए । सुकुम्बासीको नाममा खुला क्षेत्र र खोला किनार अतिक्रमण गरी बस्ती बसाउने क्रम बढेको र उनीहरुलाई दलका नेताहरुले नै उक्साउने गरेको पाइएको बताइएको थियो ।

Leave a Reply

Your email address will not be published.