दमक,१६ फागुन । विप्लव नेतृत्वको नेकपा सम्बद्ध युवा संगठन नेपाल मेची –कोशी व्यूरोले समाजका विकृति विसंगति विरुद्ध भण्डाफोर अभियानसंगै युवाहरुलाई उत्पादनमूलक कार्यमा जोड दिने भएको छ । संगठनको बैठक सार्वजनिक गर्न आज दमकमा आयोजित पत्रकार सम्मेलनमा संगठनले विज्ञप्ति निकालेर देश परिर्वतनका लागि युवाहरुलाई संगठित हुन आव्हान गरेको छ ।
संगठनका कोशी ब्यूरो इञ्चार्ज आकाश सिको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्यूरो इञ्चार्ज सुमन सि र संगठनका केन्द्रीय कोषाध्यक्ष सुवास सिको आतिथ्यमा बसेको बैठकले युवाहरुलाई लागूपदार्थ दुव्र्यसनबाट छुटकारा दिलाउन नवजीवन गृह निर्माण गरी उत्पादनमा जोडने , युवाहरुका समस्या समाधानको लागि प्रत्येक ब्यूरो र कल सेन्टर स्थापना गर्ने सहितका निर्णयहरु गरेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा संगठनका झापा जिल्ला इञ्चार्ज प्रशान्त सीले बढदो मंहगी , कालोबजारी, भ्रष्टाचार तथा वित्तीय संस्थाहरुको ज्यादतीका विरुद्ध भण्डाफोर कार्यक्रम गर्ने, बैदेशिक रोजगारीका नाममा युवाहरुलाई मेनपावरहरुले ठगी गर्ने तथा विदेशमा अलपत्र पार्ने जस्ता कृयाकलापका विरुद्ध संघर्ष गरिने बताए ।
राष्ट्रियताको आन्दोलनलाई पेचिलो बनाउँदै लगिने र पहिलो चरणमा एमसीसी परियोजनाका विरुद्ध संघर्ष गर्ने, बैशाख २ गते युवाहरुको मार्चपाससहित बृहत प्रदर्शन गर्ने पनि संगठनले सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा संगठनका केन्द्रीय तथा मेची -कोशी ब्यूरोका युवा नेताहरुको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा संगठनका संयुक्त मेची -कोशी ब्युरो इञ्चार्ज आकाशले हस्ताक्षर गरेका छन् ।