
दमक,१४ फागुन । दमक प्रज्ञा प्रतिष्ठानले दमकका विभिन्न विधाका श्रष्टाहरुलाई एकैसाथ पुरस्कृत तथा सम्मान गरेको छ । प्रतिष्ठानको चौथो स्थापना दिवसको अवसर पारेर आज दमकमा आयोजित समारोहका बीच सम्मान गरेको हो ।
प्रतिष्ठानले एकैसाथ फरक फरक विधामा छ वटा पुरस्कार वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले जानकारी दिए । पुरस्कारहरुमा दमक प्रज्ञा विशिष्ट प्रतिभा पुरस्कार प्रा.डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिएको छ ।यो पुरस्कारको राशी रु ५१ हजार रहेको छ ।
यस्तै,रु २१ हजार राशीको दमक प्रज्ञा संस्कृति पुरस्कार डा. सोमबहादुर धिमाललाई , रु २१ हजारकै दमक प्रज्ञा मातृभाषा सहित्य पुरस्कार रचना लावतीलाई, रु. २१ हजारकै दमक प्रज्ञा कला साधना पुरस्कार चन्द्रा गड्तौलालाई, रु २१ हजार रुपैँया नै रहेको दमक प्रज्ञा विज्ञान तथा प्रविधि पुरस्कार जसहाङ्ग लिम्बुलाई प्रदान गरिएको हो । यसैगरी रु १५ हजार रुपैँया रहेको दमक प्रज्ञा बाल साहित्य पुरस्कार सेलीया श्रेष्ठलाई प्रदान गरिएको छ ।
उनीहरुलाई कार्यक्रमकन प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङ लगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए । उक्त कार्यक्रममा भाषाविद टंक न्यौपाने, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिना लगायत स्थानीय साहित्य क्षेत्रका सर्जकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न संस्कृतिका झाँकीनाच र साहित्य कला संगम दमकका कलाकारहरुले मनोरञ्जन दिएका थिए । यसैवीच दमक पुस्तकालयको समुद्घाटन गरिएको छ भने विभिन्न श्रष्टाहरुका पुस्तक विमोचनसमेत गरिएको थियो ।