दमक,१४ फागुन । दमक उद्योग वाणिज्य संघले नजिकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर दमक क्षेत्र भित्र अत्यावश्यक बाहेक अन्य पसलहरु राती १० वजे पछि बन्द गर्न आग्रह गरेको छ ।
निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यस क्षेत्रका उद्योगी,व्यवसायीहरुको साझा दायित्व भएको भन्दै संघले यस अवधिमा यहाँ सञ्चालित अत्यावश्यक वस्तु तथा सेवा प्रदान गर्ने व्यवसायहरु बाहेकका होटल, रेष्टुरेन्ट लगायत सम्पूर्ण पसल व्यवसायहरु निर्वाचन अवधिभर रातको १० बजेपछि अनिवार्य रुपमा बन्द गरिदिन अनुरोध गरेको हो । संघको यस आग्रह अघि पनि दमकमा प्रहरीले राती १० वजे पसल बन्द गराउदै आएको थियो ।
संघले विहिबार अपिल निकालेर निर्वाचनका बेला रातको समयमा अत्यावश्यक काम बाहेक हिडडुल समेत नगर्नु हुन समस्त उद्यमी व्यवसायी लगायत आम नगरबासीहरुमा अनुरोध गरिएको उल्लेख छ ।
साथै संघले नेपालीहरुको महान चाड फागु पूर्णिमा (होली) यहि फागुन १९ गते पर्न गएको र उक्त समय निर्वाचनको मौन अवधि समेत रहेको हुँदा आफ्नो घरपरिवार भित्र सिमित रही कुनैपनि सार्वजनिक ठुला कार्यक्रमहरु नगरी आपसी सद्भावका साथ मनाउनु हुन समेत अनुरोध गरिएको जारी सूचनामा जनाईएको छ ।
संघका अध्यक्ष गोपाल गुरागाईद्धारा जारी अपिलमा भनिएको छ , –‘यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सचेत नागरिकको समेत कर्तव्य भएकाले त्यसतर्फ सबै क्षेत्रबाट सहयोग पुरयाँईदिन यस संघको हार्दिक अनुरोध छ।’
