पथरीशनिश्चरे ,१४ फागुन । मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि वडा नं. १० , शिविर डाँडामा मन्त्रीपरिषद्को निर्णयबाट स्वीकृत भएको छ ।गत १२ गते बेलुकी बसेको मन्त्रिपरिषद्ले पथरीशनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि निर्णय गरेपछि सहज भएको हो।
सन् १९९० देखि शरणागत जीवन बिताइरहेका भुटानी शरणार्थीहरू तेस्रो मुलुकमा पुनर्वास भएपछि खाली रहेको उक्त स्थानमा पथरीशनिश्चरे नगरपालिकाको भवन निर्माणका लागि पूर्व मेयर दिलिपकुमार राई तथा पूर्व उपमेयर यमुना बिष्ट बाँस्तोलाको पालादेखि नै जनप्रतिनिधिहरूले नेपाल सरकार समक्ष पहल गर्दै आएका थिए । हालका नगर– प्रमुख मोहनप्रसाद तुम्बापो, प्रमुख प्रशासकीय अधिकृत शशी राई , वडाध्यक्ष नैना राई लगायतले निरन्तर पहल गरिरहेका थिए।
प्रशासनिक भवन निर्माणका लागि वडा नं. १० शिविर डाँडामा रहेको राष्ट्रिय वनको खाली जग्गा प्रयोग गर्न नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले स्वीकृति दिने भनी निर्णय गरिएको थियो। सोका लागि वन तथा वातावरण मन्त्रालयको मातहतमा रहेको उक्त स्थानको १२ कठ्ठा जमिन प्राप्त भएको नगरपालिकाका नगरप्रवक्ता नवीनजंग कार्कीले जानकारी दिए ।
नगरपालिकाले आफ्नो सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण स्थल शिविर डाँडामै सन् १९९० देखि शरणागत जीवन बिताइरहेका करिब २ हजार भुटानी शरणार्थीहरूले अहिले पनि गत जीवन बिताउँदै आएका छन्।
स्थानीयहरुले भुटानी शरणार्थी शिविरक्षेत्रमा नगरपालिकाको प्रशासनिक भवन बन्ने भएपछि आफूहरूलाई धेरै सुविधा मिल्ने बताएका छन्।
स्थानीय समाजसेवी भगतचन्द्र थपलियाले नगरपालिकाको प्रशासनिक भवन कहाँ बन्ने भन्ने कुराले निकै लामो समय सम्म अन्योलता रहेको र अब टुङ्गो लागेकोमा आफूहरु भवन बन्नेमा ढुक्क भएको बताउँछन् ।
पटकपटकका विभिन्न छलफल अन्तरक्रिया र सहमतिका बीच अन्ततः शिविर डाँडामै प्रशासनिक भवन निर्माण गर्ने कुरा टुङ्गो लागेकोमा स्थानीय अगुवा रमेश कुमार राईले खुसी व्यक्त गर्छन् ।
तत्कालीन पथरी र शनिश्चरे दुई गाविसहरू वि. सं. २०७२ सालमा राज्य पुनर्संरचना हुँदा गाभिने वेला भएका विभिन्न सहमति अनुसार नै उच्च अदालत र सर्वोच्च अदालतबाट फैसला भएको र सोहि फैसला कार्यान्वयनमा लैजाने पनि नेपाल सरकारको मन्त्रिपरिषदबाट निर्णय भएको छ। यो वर्तमान सरकारको निर्णय स्वागतयोग्य स्थानीय नगरवासीहरुका भनाई छ ।