दाहाललाई ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार’

दमक,१३ फागुन । प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्मालाई यस वर्षको ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ ।
महेन्द्रनारायण निधिको १०० औँ जन्मजयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनलाई रु एक लाख एक हजारसहित सम्मान गरिएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई पुरस्कार प्रदान गरिन् ।
झापा, कमल गाउँपालिका ५ मंगलवारे निवासी वयोवृद्ध दाहाल झापा कांग्रेसका पूर्व जिल्ला सभापति हुन् । राष्ट्रपतिले दाहालसहित पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता राजेन्द्र खरेललाई पनि नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गरिन्। यस्तै ‘प्रेमसागरी देवी निधि पुरस्कार’बाट सरस्वती चौधरी र सुवर्ण ज्वारचन पुरस्कृत भएका छन् । उनीहरूले पनि जनही रु एक लाख एक हजार प्राप्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा महेन्द्रनारायणले युवावस्थादेखि गरेको सङ्घर्षको चर्चा गरिन्। उनले अहिंसात्मक आन्दोलनका पक्षपाती निधिले सधैँ सत्य, न्याय, समानताका पक्षमा आफूलाई उभ्याएर एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरिन् । कार्यक्रममा कांग्रेस नेता विलमेन्द्र निधिले सामाजिक र राजनीतिक रुपान्तरणमा पिता महेन्द्रनारायणको योगदान नेपालको राजनीतिक इतिहासमा सधैँ स्मरणीय रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published.