
दमक,१३ फागुन । किरात धर्मगुरु आत्मानन्द लिङदेनले प्रदेश न. १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव दिएका छन् । मुख्यमन्त्री राजेन्द्र राईलाई शुभार्दिवादसहित सन्देस पत्र पठाउदै उनले प्रदेश नामाकरणका विषयमा ‘किरात सगरमाथा’ राख्न सुझाव दिएका हुन् ।
गुरुआश्रम निजी सचिवालयमार्फत विहिबार पत्र पठाउदै धर्मगुरु लिङदेनले विभिन्न योजनामा वजेट माग राख्दै प्रदेश नामाकरणमा समेत आफनो धारणा अघि सारेका हुन् । पत्रमा भनिएको छ,–‘प्रदेश १ लाई किरात सगरमाथा प्रदेश नाम राख्न मेरो सदिक्षा छ ’
प्रदेश सरकारले प्रदेश नामाकरणका विषयमा टुंगो लगाउने भनिरहेको बेला धर्मगुरुसहित गुरुआमा पवित्राहाङमा लिङदेनले प्रदेशको नाममा त्यस्तो सदिक्षा राखेको निजी सचिवालयले जनाएको छ ।
इलामको माङसेवुङ गाउँपालिका वडा न. ५ स्थित लारुम्बामा बस्दै आएका उनलाई किरात धर्मालम्बीहरुले धर्मगुरु,संरक्षकका रुपमा मान्दैआएका छन् । धर्मगुरुले त्यसपालिकाको वडा न.५, २ र ३ मा पर्ने लारुम्बा पवित्र धार्मिक स्थलका रुपमा विकास हुदै गएकाले ती क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि वजेट कार्यान्वयन गर्न समेत माग गरेको निजी सचिवालयले जनाएको छ ।
