दमक, १२ फागुन । यौनिक तथा लैङ्घिक अल्पसंख्यक समुदायहरुको हक,अधिकारका क्षेत्रमा क्रियाशील संस्था लिड नेपाल दमकले आयआर्जनका लागि सैलुनसहित ट्रेनिङ एकाडेमी सञ्चालनमा ल्याएको छ ।
संस्थाको अगुवाई र नगरपालिकाको सहयोगमा दमक ५ स्थित बेलडाँगी रोडमा व्यवसायिक रुपमा नमुना यूनिसेक्स सैलुन एण्ड ट्रेनिङ एकाडेमी सञ्चालनमा ल्याएका हुन् । बेलडाँगी रोडमा खोलिएको सो सैलुनको नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले उद्घाटन गरिन् ।
सैलिनुको उद्घाटनका क्रममा उनले यौनिक तथा लैङ्घिक अल्पसंख्यक समुदायहरुलाई सीपमूलक तालिम दिई स्वरोजगार बनाउन स्थानीय सरकारले सहयोग पुरयाँउदै आएको चर्चा गरिन् । यस्ता समुदायलाई लक्षित गरि सीपमूलक तालिम लगायतका अवसर प्रदान गरि स्वरोजगार बनाउन खाचो रहेको उनले सुनाईन् ।
सैलुन उद्घाटनमा लिड नेपालकी कार्यक्रम संयोजक नुमा लिम्बू (चन्चला ) ले यौनिक तथा लैङ्घिक अल्पसंख्यकहरुलाई रोजगारीसंगै सीपमूलक तालिम प्रदान गरि संस्थागत सवलीकरणमा यस कार्यलाई शुरुवात गरेको बताईन् । उनका अनुसार यस सैलुनमा नगरपालिकाले तालिमसंगै आवश्यक भौतिक संरचनामा सहयोग पुरयाँएको छ । नगरपालिकाले सैलुन खोल्नका लागि यसअघि त्यससम्बन्धी तालिम प्रदान गरेको थियो । तालिममा १८ जना प्रशिक्षार्थी सहभागी थिए ।
सैलुनमा श्रृङगार सम्बन्धी जनशक्ति सोहि तालिमबाट तयार गरेको थियो । सैलुनमा विभिन्न किसिमका पाँच जना व्यूटि प्रशिक्षक संलग्न छन् । सैलुनले सवै ग्राहकका लागि सुलभ र सरल मूल्यमा नै श्रृङगार संगै तालिम समेत सञ्चालन गरिने लक्ष्य राखिएको लिड नेपालका अध्यक्ष शुसील पौडेलले बताए ।
सैलुन उद्घाटनमा व्लू डाइमण्ड सोसाईटीकी पिन्की गुरुङ ,लिड नेपालका पदाधिकारी,सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।