
इलाम,११ फागुन । इलाम बजार साना सहरी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । एशियाली विकास बैंक (एडिबी ) को सहयोगमा निर्माणाधीन खानेपानीको काम ९० प्रतिशतका हाराहारीमा सकिएको इलाम वजार साना सहरी खानेपानी उपभोक्ता समितिले जनाएको छ ।
आयोजनाको काम अन्तर्गत हाल उपभोक्ताका घरघरमा पानीको धारा जडान गर्ने कार्य धमाधम भइरहेको जनाईएको छ । नयाँ आयोजनामार्फत यहि चैत मसान्तभित्र उपभोक्ताका घरमा पानी उपलव्ध गराउने गरि काम भईरहेको उपभोक्ता समिति अध्यक्ष केदार थापाले जानकारी दिए । उनका अनुसार इलाम नगरपालिकाभित्र रहेका सडक निर्माणले वितरण पाइपमा केही क्षति पुगेकोले पुनः मर्मत गर्ने तयारी भइरहेको छ ।
रिर्जव ट्याङ्की र वितरण लाइनमा परीक्षणका लागि पानी छोड्दै जाने बताइएको छ । आयोजनाको कूल लागतको ७० प्रतिशत रकम एडिबीले व्यहोर्ने सम्झौता पत्रमा उल्लेख छ । सुरुको लागतको अनुमानित रकम ५ प्रतिशतले हुन आउने रु चार करोडभन्दा बढी रकम उपभोक्ताले जम्मा गरिसकेका छन् । यो आयोजनाको पानी आएपछि इलाम बजार र आसपासका क्षेत्रका उपभोक्ताले चौबिसै घण्टा पानी आउने बताइएको छ ।
करिब चार हजार घरधुरीलाई खानेपानी पु¥याउने लक्ष्य राखिएको आयोजनामा हालसम्म दुई हजार ८०० धारा जडान गरिसकिएको छ । रु ८४ करोड ७९ लाख १८ हजार ६१५ कूल लागत रहेको आयोजनाको निर्माणका लागि भने ५७ करोड ९५ लाखको सम्झौतामा आयोजनाको काम भइरहेको छ ।
सन्दकपुर गाउँपालिकामा रहेका विभिन्न खोल्साको पानी जम्मा गरेर इलाम बजारमा ल्याइँदै छ जसमा ४१ किलोमिटर आयोजनाको प्रसारण लाइन हुनेछ । आयोजना अन्तर्गत इलाम नगरपालिका ६, ७, ८ र ९ का नगरका ४ हजार १०० धारामा चौबिसै घण्टा खानेपानी आउने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष थापाले बताए ।