पाडाजुंगी,११ फागुन । जिल्लाको कमल गाउँपालिका -५ पाडाजुङ्गीस्थित आईतबारेमा आजदेखि साप्ताहिक हाटवजार सञ्चालनमा आएको छ ।स्थानीय उत्पादन तथा ब्यापार प्रबद्र्धनमा सघाउँ पुरयाँउन साताको आइतवार पाडाजुङ्गी -आइतवारे हाट सञ्चालनमा आएको हो ।आइतवारेमा यसअघि साताको आइतवार हाट लाग्दैआएको थियो । तर वजार चहलपहल हुन नसकेपछि त्यस हाट बर्षोदेखि वन्द हुन पुगेको थियो । त्यस क्षेत्रका बासिन्दाहरुले त्यही हाटलाई पुनः लगाउने निर्णय गरेसंगै आजदेखि विधिवत हाट सञ्चालनमा ल्याईएको पाडाजुङ्गी–आईतबारे हाट व्यवस्थापनका समितिका अध्यक्ष खड्गबहादुर श्रेष्ठले बताए।
उनका अनुसार हाटको पहिलो दिन वजारमा उल्लेखीय सर्वसाधारणहरुको उपस्थिति रहेको तथा कारोवार समेत सन्तोषजनक भएको छ । वजारमा दैनिक उपभोग्यसहित जुत्ताचप्पल, लत्ताकपडा,भाडावर्तन ,कृषि औजार लगायतका सामाग्रीहरुको व्यापार चलेको थियो । वजार लगाउन समितिले त्यस क्षेत्रमा माइकिंग लगायतका सार्वजनिक सूचना प्रशारण गरेको थियो ।
त्यस क्षेत्रमा साप्ताहिक हाटवजारको खाँचो भएको महषुष गरिएपछि स्थानीय सामाजिक,राजनीतिक क्षेत्रका अगुवा,स्थानीयहरुले साझा धारणा बनाएर वजार स्थापनामा जुटेको स्थानीय एकराज प्याकुरेलले बताए ।
कमल ५ का पडाअध्यक्ष एलवी विष्टले पाडाजुङ्गी–आईतबारेमा साप्ताहिक बजार लगाउने विषयमा वृहत छलफल भएको र त्यसै अनुसार आजदेखि वजारको शुरुवात गरिएको बताए। वजारमा स्थानीय कृषि उत्पादनदेखि दैनिक उपभोग्य समानहरुको उपलव्धता हुने भएकाले पनि यहाँको आर्थिक गतिविधिमा टेवा पुग्ने उनको भनाई छ ।
वडाको पूरानो यस हाटलाई पुनः सञ्चालनमा ल्याएसंगै अव वजारको चहलपहल वृद्धि तथा थप व्यवस्थित बनाउन सवैको साथ र सहयोग आवश्यक हुने उनले बताए ।
पाडाजुंगी आइतवारेसंगै जोडिएको मंगलवारे वजारमा यसअघिनै साताको मंगलवार हाटवजार सञ्चालनमा छ । मंगलवारे हाट पछिल्ला समय पालिकाकै ठुलो हाटका रुपमा विकास हुदै गएको छ । मंगलवारेमा आइतवारे जस्तै केहिबर्ष वजार मासिएको थियो । त्यही ठाउ र वजारलाई उकास्न हाल कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले वजार लगाउने शुरुवात गरेसंगै अहिले भने त्यस हाटमा उपभोक्ताहरुको आर्कषण दिनानुदिन बढ्दै गएको छ ।