ताप्लेजुङ, ११ फागुन । ‘नो केबलकार समूह’ र प्रहरीबीच सदरमुकाम फुङलिङमा हिजो शनिवार साँझ भएको झडप परेर २३ जना घाइते भएका छन् ।घाइते हुनेहरुमा सुरक्षाकर्मीतर्फ ११ जना र आन्दोलनकारीतर्फ १२ जना रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलले बताए । प्रहरीतर्फ दुईजना प्रहरी निरीक्षकसहित ११ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा प्रहरी जवान मिना आङदम्बे , प्रहरी हवल्दार धर्मनाथसिंह नुनिया, प्रहरी जवान सुसान्त राई , प्रहरी जवान दिपक तामाङ, प्रहरी नायव निरीक्षक पदम लिम्बू , प्रहरी जवान तेजेन्द्र बिसुन्के , प्रहरी जवान रुपा राई , प्रहरी जवान बिशाल दाहाल, प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढई , प्रहरी निरीक्षक ओमप्रकाश पण्डित रहेका छन् ।
घाइतेहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । त्यसमध्ये केही उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी नायव निरीक्षक पदम लिम्बूको अबस्था गंभीर रहेकाले थप उपचारका लागि सुबिधासम्पन्न अस्पताल रेफर गरिएको छ ।
त्यस्तै आन्दोलनकारीतर्फ इटहरी -५ बस्ने अन्दाजी बर्ष ५० का कमल लिम्बू टाउकोमा चोट,नाकबाट रगत बगिरहेको अवस्था सामान्य (जिल्ला अस्पताल),ताप्लेजुङ फक्तालुङ गाउँपालिका वडा नं.६ बस्ने अन्दाजी बर्ष ४० का केसेङकुमार लिम्बू टाउकोमा चोट अवस्था मध्यम, तमोर अस्पतालमा उपचार भइरहेको , ताप्लेजुङ फुङलिङ ८ बस्ने अन्दाजी बर्ष ६० का कृष्ण खड्का टाउकोमा चोट अवस्था सामान्य(तमोर अस्पताल) घाइते छन् ।
त्यस्तै बिभिन्न स्थानमा आन्दोलनकारीहरुलाई घाइते अवस्थामा फेला पारी उपचारको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । त्यसरी उद्धार गरिनेमा इलाम थाक्थोकथुम गापा २ बस्ने बर्ष ३४ का रामकुमार राई दाहिने कुम खुस्किएको,दाहिने घुँडाको मुनिको हड्डी भाचिएको अवस्था मध्यम पाँचथर अस्पताल रेफर, ताप्लेजुङ फुङलिङ ४ बस्ने अन्दाजी बर्ष ५३ का असिम पालुङवा निधारको बायाँपट्टीको भागमा चोट अवस्था सामान्य , ताप्लेजुङ फुङलिङ -४ बस्ने अन्दाजी बर्ष २७ का समर लिम्बू बायाँ कुहिनाको हड्डी भाचिएको सुबिधासम्पन्न अस्पताल रेफर, ताप्लेजुङ आठराई त्रिबेणी -१ निगुरादिन बस्ने बर्ष २१ का शिशिर लिम्बू टाउकोमा चोट सुबिधासम्पन्न अस्पताल रेफर, इलाम सूर्योदय- १४ बस्ने अन्दाजी बर्ष २५ को मिलन साँवा , मिक्लाजुङ -२ बस्ने अन्दाजी बर्ष ४९ का सन्तराई , जिल्ला अस्पताल ताप्लेजुङ, झापा अर्जुनधारा २ बस्ने अन्दाजी बर्ष ३६ का संजय लिम्बू , अर्जुनधारा -४ बस्ने बर्ष २६ की कोपिला चेम्जोङ,ताप्लेजुङ मेरीङदेन -२ बस्ने अन्दाजी बर्ष ४३ का भवानसिंह लिम्बू रहेका छन् । डिस्चार्ज भएकाहरुलाई असिम पालुङवाले जिम्मा बुझेको बताइएको छ ।
डीएसपी रवि रावलले १५ जना आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिवार बेलुका फुङलिङ बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए ।त्यही क्रममा वीरेन्द्रचोकमा झडप भएको हो । झडपका क्रममा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ केही घाइते भएका हुन् ।
१५ जना आन्दोलनकारी नियन्त्रणमा
पक्राउ पर्नेहरुमा फिदिम- ११ बस्ने अन्दाजी बर्ष २२ का यमन राई , बिर्तामोड -११ अर्जुनधारा बस्ने अन्दाजी बर्ष ३० की दिक्षा क्षेत्री, ताप्लेजुङ आठराई त्रिवेणी -१ बस्ने अन्दाजी बर्ष ४५ का नबिन पोमु,पाँचथर हिलिहाङ -६ बस्ने अन्दाजी बर्ष ४७ का मित्र लिङदेन ,सुनसरी ईटहरी ३ बस्ने अन्दाजी बर्ष २३ का विवेक लिम्बू , मोरङ सुन्दरहरैचा वडा नं.१० बस्ने अन्दाजी बर्ष ५८ का तुलाराम तामाङ रहेका छन् ।
यसैगरि, पक्राउ पर्नेहरुमा सुनसरी इटहरी ३ बस्ने अन्दाजी बर्ष १९ का जुरन राई , मोरङ उर्लावारी -१ बस्ने बर्ष ३९ का हरि लिम्बू , पाँचथर फिदिम -१ बस्ने अन्दाजी बर्ष ४० की सुनिता केरुङ ,सुनसरी इटहरी -२ बस्ने बर्ष अन्दाजी ३२ का अर्जुन तामाङ , इटहरी २० बस्ने अन्दाजी बर्ष ३२ का अनुप सुब्बा ,इलाम -७ बस्ने अन्दाजी बर्ष ५१ का योगेन्द्र लावती, इटहरी -१० बस्ने अन्दाजी बर्ष १९ का बिशेष सुब्बा, बिर्तामोड -२ बस्ने अन्दाजी बर्ष २० की इक्सा लिम्बू र सोही ठाउँकी अन्दाजी वर्ष २१ की निहा चेम्जोङ रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा
पाथीभरामा केबलकार बनाउने कि नबनाउने भन्ने विषयमा झडप बढ्न थालेपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा लगाएको छ ।
हिजो फेरि झडप भएपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरेका हुन् । आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जनाभन्दा धेरै मानिस भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ ।
आदेश उल्लंघन गर्ने वा पालनामा अवरोध गर्ने मानिस वा समूहलाई कानूनअनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ । निषेधाज्ञा लागू गर्न चार किल्ला पनि तोकिएको छ । सदरमुकामको पूर्वतर्फ फुङलिङ नगरपालिका ७ सल्लेरी, पश्चिममा फुङलिङ नगरपालिका ७ घोडेचौर काफ्लेपार्टी, उत्तरमा फुङलिङ नगरपालिका–४ उकालीपानी र दक्षिणमा फुङलिङ नगरपालिका ६ शेर्पाटोल, भेटनरी कञ्चनजंघा टोल क्षेत्र रहेको छ ।