विराटनगर,९ फागुन । विराटनगर -१९ घर भएकी २८ वर्षिया प्रियङ्का सुनवार साहको हत्या आरोपमा प्रहरीले श्रीमान २९ वर्षीय रमेश साहसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले कटहरी गाउँपालिका ५ का रमानन्द राम र कटहरी -५ का ३५ वर्षीय उमेश सरदारलाई अनुसन्धानको लागि आज नियन्त्रणमा लिएको हो ।
पक्राउ परका रमानन्द शव व्यवस्थापनको लागि एम्बुलेन्स खोज्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । सुरुमा प्रहरीले उनलाई पक्राउ गरेपछि हत्या गरेर शव फेला पारेको थियो ।
प्रिंयकाको दिउँसो मोरङको बुढीगंगा गाउँपालिका -२ अमाहीमा नर्सिङ चौधरीको घरको ग्वालीमा बोरा भित्र शव भेटिएको मोरङ प्रहरीका एसपी दीपक पोखरेलले जानकारी दिए । अहिले घटनाको अनुसन्धान भइरहेको छ । प्रारम्भिक चरणको अनुसन्धानबाट पारिवारिक कारणले हत्या भएको देखिएको उनले बताए । ‘थप अनुसन्धानपछि अरु खुल्नेछ,’ उनले भने ।
प्रियङ्काको हत्या आइतबार दिउँसो २ देखि ३ बजेको वीचमा भएको अनुसन्धानमा संलग्न प्रहरीका अधिकारी बताउँछन् । शव भेटिएको घरधनी चौधरी र रमानन्द पहिला देखिको चिनजान रहेको थियो । त्यही भएर रमानन्दको माध्यमबाट रमेशले मोटरसाइकलमा हालेर श्रीमती प्रियकालाई लिएर गएको अनुसन्धानमा संलग्न प्रहरीका अधिकारी बताउँछन् ।
स्थानीयवासी तथा जनप्रतिनिधि मिना विश्वासले घटनाको बारेमा जानकारी दिए अनुसार आइतबार उक्त घरमा दुई जना युवाहरू आएका थिए । केही समयपछि चौधरीसँग चिनजान भएका अर्का एक व्यक्तिले मोटरसाइकलमा राखेर महिलालाई त्यहाँसम्म ल्याएर छोडेका थिए । महिलालाई लिएर आएका व्यक्ति र घरधनी चौधरी घर बाहिर निस्केपछि दुई जना केटा र महिला घरमा थिए ।
एक घण्टापछि चौधरी घरमा आउँदा दुई जना केटाहरू मात्रै भेटिएका थिए । उनीहरू त्यसपछि गए पनि महिलालाई चौधरीले नभेटाएको दाबी गर्दै आएका छन् । तर, चौधरीको घर परिसरमै रहेको ग्वालीमा थुपारिएको पराल र भुसको थुप्रो भित्र बोरामा हालेको अवस्थामा महिलाको लास सोमबार फेला परेको हो । महिलाको घाँटीमा नीलडाम र कानमा कोट लागेको छ । प्रहरीले मृतकको शव पोस्टमार्टमको लागि विराटनगरस्थित कोसी अस्पतालमा राखेको छ ।