दमक,७ फागुन । दमकमा आइतवार आयोजित अन्तरकृयाका वक्ताहरुले देशमा प्रजातन्त्र आएको यतिका बर्ष बितिसक्दा पनि किसानहरुको अवस्था नसुध्रिएकोमा चिन्ता व्यक्त गरेका छन् ।
७३ औं प्रजातन्त्र दिवसको अवसरमा आइतवार नेपाली कांग्रेस दमक नगर समितिको आयोजना तथा नेपाल किसान संघ जिल्ला समितिको संयोजनमा पार्टी कार्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले प्रजातान्त्रिक आन्दोलनमा किसानहरुको भूमिका महत्वपूर्ण रहेको भएपनि किसानहरुले परिवर्तनको अनुभुति गर्न नसक्नु दुखद भएको औल्याएका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व सांसद महेन्द्र कुमारी लिम्बूले कांग्रेस पार्टी स्थापनाको आधार किसान नै भएकाले कांग्रेसले मात्रै किसानको हितमा काम गर्ने जोड दिईन् ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै किसान संघ झापाका सभापति राजेन्द्र भट्टराईले किसानहरुको उत्पादन गरेका कृषि उपजहरु बिक्रि नभएर बाटोमा फ्याक्नु पर्ने अवस्था रहेको भन्दै कृषिप्रधान मुलुकमा किसानहरुको बिजोग हालसम्म उस्तै रहनु दुखद भएको गुनासो गरे ।
कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश १ कृषि तथा भुमिसुधार समितिकी संयोजक अन्जना राई, पार्टीका प्रदेश १ सदस्य भुमी राई, प्रदेश सदस्य तथा किसान संघ सुनसरी सभापति केशब भट्टराई, प्रदेश सदस्य चन्द्रा खड्का भट्टराई, हुकुमसिंह राई, जिल्ला उपसभापति शेरबहादुर भट्टराई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्रीय सभापति रवि केसी न्यौपाने लगायतले बोलेका थिए ।सो अवसरमा दमकका अगुवा कृषक भरत कुमार निरौलालाई सम्मान समेत गरिएको थियो ।