ताप्लेजुङ,६ फागुन । ताप्लेजुङमा छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।फक्ताङलुङ गाउँपालिका–४ इखावुका सुवास लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले बताए ।
खुपातालमा रहेको छत्रबहादुर लिम्बूको शुद्ध्याइँ कार्यमा ५६ वर्षीय बृखबहादुर लिम्बूलाई मुक्का प्रहार गरेको र संवेदनशील अंगमा लागेर घाइते भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । त्यही पीडाले उनको मृत्यु भएको सूचनाका आधारमा पक्राउ गरी कारबाही प्रक्रिया बढाइएको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । उनका अनुसार शवको पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ भने जिल्ला अदालतबाट म्याद थपेर सुवासमाथि अनुसन्धान थालिएको छ ।उनलाई फौजदारी कार्यविधिअनुसार ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।